www.tandavnews.com
Fact ~ In search of truth

कुचोमा अडिएको जिन्दगी

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।  

नाम अनुप शाक्य । काम (सरसफाइ) कुचो लगाउने, कसिङ्गर टिप्ने । तर, निजी घरमा होइन, सार्वजनिक स्थल, सडक, चोक तथा कुना कन्दरामा । झट्ट हेर्दा अधबैंशे देखिन्छन् उनी तर उमेरले झण्डै दुई बिसे नौ पुगे । उनको दर्शन प्रायः पोखरा महानगरपालिकाको वडा नं १ बगर आसपासमा पाउन सकिन्छ ।

अधिकांश उनको दायाँ हातमा कुचो त बायाँ हात बोराले कब्जा जमाइरहेको हुन्छ । आफूलाई बुज्रुक ठान्नेहरु फोहोर फाल्ने दाउ खोज्दै हिँड्छन् तर अनुप त्यही फोहोर उठाउन । यही ट्ीवस्टकै कारण पनि पोखरामा दिनानुँदिन प्रदूषण बढिरहेको छ ।

Batas

हुने खानेहरुले फोहोर उठाए सरसफाइ कार्यक्रम अनि हुँदा खानेले उठाए सडक छापको बिल्ला भिराइने यो समाजमा अनुप शाक्यको स्थान के हो ? कुचो र बोराको सहारामा बाँचेको अनुप शाक्य भावुक हुँदै भन्छन्, ‘मलाई सबैले हेपाहा प्रवृतिले हेर्थे तर निरन्तर सरसफाइ गरेको देखेपछि आजभोलि उल्टै धेरैथोरै पैसा पनि दिने गरेका छन् । मेरो एउटै सोच छ, फोहोरलाई मोहोरमा बदल्ने अनि हराभरा पोखरा बनाउने ।’ शाक्यको दैनिकी सरसफाइमै बित्छ, बिहान उठ्ने बित्तिकै आफ्ना उमेर समूहका व्यक्तिहरु पेट घटाउन दौडन्छन् तर अनुप पेट भर्न कुचो बोकेर चोकतिर हानिन्छन् । बिहानको खाना खाएपछि फेरि कुचो साथमा लिएर डुल्न थाल्छन् बगर वरिपरिका चोकहरुमा ।

उनी भन्छन्, ‘मैले पैसा पाउँछु भनेर सफा गरेको थिइन, सन्देश दिऊँ भन्ने लाग्थ्यो जब म गाडीमा काम गर्थे, अहिले सबैले माया गरेर पैसा दिनुहुन्छ झन् काम गर्न हौसला मिलेको छ ।’ उनी बगरको हरिचोक, नयाँगल्ली, टुँडिखेल, ट्याक्सीचोक, भिमकालीपाटन तथा क्याम्पस गेट आसपासमा देखिने पात पतिङ्गर, प्लाष्टिक लगायतका फोहोहरुलाई व्यवस्थित गर्र्दै आएका छन् ।

‘फोहोरमैलाकै कारण मानिसलाई रोगहरु लागेको हुन्छ, त्यसैले मैले मात्र होइन यहाँका हरेक व्यक्तिहरुले आफ्नो घर वरपर सधैँ सफा गरिरहनुपर्छ, तर के गर्नु ?,’ उनी भन्छन्, ‘बुझ्दैनन्, यस्तै हो यहाँ, केटाकेटी त केटाकेटी नै भइहाले तरपनि पाकाहरुले जताततै फोहोर फालेर हिँडिदिन्छन,् जबसम्म बाँच्छु तबसम्म सफाइको काम निरन्तर गर्छु एकदिन अवश्य सबैले बुझ्नेछन् फोहोर गर्नु हुन्न भनेर ।’ सरसफाइ गरेको भन्दै उनले धेरै कार्यक्रमहरुमा सम्मान समेत हात पारेका छन् ।

उनले बगर स्थित चोकचोकमा बस्ने ट्याक्सी चालकहरुबाट एक सयदेखि हजारसम्म सहयोग प्राप्त गरेका छन् भने वडा कार्यालय बगर १ बाट मासिक १० हजार बुझ्दै आएका छन् । ६ वर्षीय एक छोराको बाबु अनुप शाक्य हाल नयाँगल्ली स्थित बगर तमु समाजमा बस्दै आएका छन् ।

बसको ढोका ढकढकाउँथे

शाक्यले आफ्नो युवाकाल सार्वजनिक बसको सहचालक बनेरै बिताए । २१ वर्ष सहचालकका रुपमा काम गरे । ‘मैले यत्तिका बर्षमा धेरै कुरा भोगेको छु । सहचालक बन्नु आफैमा अवजसे काम हो गल्ती नै नगरेपनि धेरै गाली, श्राप खानुपर्छ अनि सहने क्षमता हुनुपर्छ,’ उनले स्मरण गर्दै सुनाए ।

शाक्य पोखराकै रैथाने हुन् । सहचालकको रुपमा वर्षाैदेखि काम गर्दा पोखरा क्षेत्रमा अत्याधिक फोहोर देखेपछि कुचोलाई अगाल्न पुगेको उनी बताउँछन् ।

‘सहचालकको रुपमा काम गर्दा धेरै गाली खाइयो, कोही त श्राप नै दिन्थे, के गर्नु नराम्रो काम नगरे पनि गाली खानुभन्दा यो काम गर्नु ठीक हो भनेर यता हात हालेको हुँ, तर पैसा सँग सरोकार थिएन मात्र जनचेताना फैलाउने मेरो उद्देश्य थियो त्यसैले कुचो रोजे,’ उनी भन्छन् ।

यद्यपि शाक्य गाडीमा काम गर्दा समेत डिजेल भर्ने पम्पको वरपर रहेका फोहोर टिपेर गोजीमा राख्ने गर्थे । ‘तुलनात्मक रुपमा सहचालकका रुपमा काम गर्दा घर व्यवहार चलाउन सहज हुन्थ्यो तर अहिले पनि ठिकै छ, आत्मसम्मानका साथ बाँचेको छु,’ उनी भन्छन् ‘जे पर्छ त्यही टर्छ भनेभैmं मेरो दैनिकी पनि चलिराछ गुज्रिराछ तर पनि म सन्तुष्ट छु अनि मेरो परिवार पनि खुशी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.