www.tandavnews.com
Fact ~ In search of truth

कुमाल जातिको लोपोन्मुख हेम्फै नाच

सुवास गौतम,

गलकोट ।

चिटिक्क सजिएकी युवती, सानो टाउको तर ठूलो शरीर । होचो तर छमछमि नाच्ने । पछि पछि लाहुरेले पछ्याइरहेको । झट्ट हेर्दा अनौठो लाग्ने । दर्शकमाझ खासखुस । अनि बीचैमा प्रश्न सोधिन्छ – कहाँबाट ल्याएको रु कस्ती डल्ली रु के काम गर्ली रु हामीकहाँ काम आउँला कि नआउँला रु यस्ता सबै प्रश्नको गीतबाट उत्तर दिँदै काम गरी देखाउने कुमाल जातिको नाच हो ‘हेम्फै’ ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्र तथा गुल्मीको मुसिकोट नगरपालिकामा परापूर्वकालदेखि कुमाल जातिमा देखाइँदै र नाचिइँदै आइएको लोपोन्मुख हेम्फै नाच हिजोआज फेरि देखाउन थालिएको छ । हेम्फैको खास अर्थ पत्ता नलागे पनि केटा र केटीबीचको सम्बन्ध हो भन्ने नाचबाट बुझ्न् सकिन्छ ।

विशेष गरी पहिले रोदी बस्ने चलनसँग यसको सम्बन्ध देखिन्छ । रोदी घरमा मलायाको लाहुरेले उतैबाट विवाह गरी घरमा ल्याएको प्रेमिकालाई रोदीमा पु¥याउने र रोदीमा जम्मा भएका सबैले प्रश्न सोध्ने गरिन्छ । नयाँ नानीलाई कसरी ? किन ? कहाँबाट  लिएर आएका भनी सोध्ने र आफ्नो समाजमा हुने सबै काम जाने नजानेको परीक्षा लिने विषयसँग यो नाच जोडिएको छ ।

लाहुरेले प्रेमिकाका सकारात्मक कुरा गर्ने, आफूले जीवनभर धोका नदिने वाचा गर्ने, रोदीमा उपस्थित सबैसँग रमाइलो गरी आफूले मलायाबाट ल्याएको कोशेली बाँड्ने र सबैसँग नाच्ने कथाका रुपमा हेम्फै नाचलाई लिन सकिन्छ ।

गाउँघरका यस्ता साँस्कृतिक नाचहरु नेपाली सामाजिक परिवेशसँग जोडिएका छन् । तत्कालीन सामाजिक परिवेशमा उनीहरु त्यसैमा रम्थे । आजभोलि आधुनिकता र प्रविधिको विकाससँगै त्यस्ता मौलिक संस्कृति सङ्कटमा पर्दैगएको छ । “बडिगाड गाउँपालिकाले हेम्फै नाचको संरक्षणका लागि आगामी दिन बजेट विनियोजनै गरेर काम थाल्नेछ,” बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले भने – “केही वर्षमा हेम्फै नाचलाई सबैले चिन्ने र बुझ्ने गरी अगाडि बढाउने छु ।”

यो नाच भाद्र कृष्ण पक्षको औंसीका दिन शुरु गरिन्छ र शुक्ल पक्षको पूर्णिमाका दिन विशेष पूजा आराधनासहित सम्पन्न गरिन्छ ।

एकातिर रोदीको समाजले रोदी गाइरहने र अर्कातर्फ कमेरो र माटोको प्रयोग गरेर बनाइएका चन्द्रमा र सूर्यको प्रतीकमा उपस्थित सबैले फूलले पूजा गर्ने चलन छ । भाद्र कृष्ण पक्षको औंसीमै फूल टिप्न दुई कन्याको छनोट गरिन्छ र उनीहरुले टिपेको फूलबाट मात्रै पूर्णिमाका दिन पूजा गर्ने गरिन्छ ।

तर ती फूल भने सबैले चढाउन सक्ने यसको विधि छ । रातभर हेम्फै र लाहुरेलाई नचाई बिहान तिनै उपवास बसेका दुई कन्याले चढाइएका ती सबै फूलहरुको डोली बनाउँछन् र सबैजना नाच्दै गाउँदै नदी किनारमा लगी सेलाउने काम हुन्छ ।

मानिसहरु रोदी घरमा जम्मा भई घरभित्र रहेकी हेम्फैलाई बोलाउने, हेम्फै लिएर सँगै लाहुरे आउने क्रमसँगै
गाइने शुरुको टुक्का यस्तो हुन्छ –

हा हा हो ।।।।।।।।।।।।।।।
माला र मुग्लानै बाट, आयो मेरो हेम्फै
माला र मुग्लानै बाट, आयो मेरो हेम्फै
माला र मुग्लानै बाट, ढोका खोल हेम्फै
माला र मुग्लानै बाट, बाटोे खोल हेम्फै

बीचबीचमा गीत रोकी लाहुरेसँग कहाँबाट रु किन रु लिएर आएको हो यस्ती डल्ली नराम्रीलाई भनेर ठट्टा गर्ने गरिन्छ ।

बीचमा : हा हा हो ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
माला र मुग्लानै बाट, नाच मेरो हेम्फै
माला र मुग्लानै बाट, दैलो लिप हेम्फै
माला र मुग्लानै बाट, जाँतो पिस हेम्फै
माला र मुग्लानै बाट, ढिकी कुट हेम्फै

यसरी सबै कामको परीक्षा लिने काम हुन्छ । सबै परीक्षा सकिएपछि यसरी गाइन्छ –

माला र मुग्लानै बाट, भित्र पस हेम्फै
माला र मुग्लानै बाट, भित्र पस हेम्फै
(कतै बर्मा र मधेशैबाट भन्ने पनि छ । )

यसरी हेम्फै भित्र पसे पनि लाहुरे चाहीँ बाहिरै रहने र लाहुरेसँग सबै सङ्गिहरुले रमाइलो गरी नाच्ने र कोशेली माग्ने गरिन्छ । लाहुरेले सबैजनासामु कोशेली पुर्याउने र निकै रमाइलो गरी हेम्फैमा नाच्ने गरिन्छ ।

गीतका भाव र कर्म हेर्दा यो पहाडी भूगोलमा नाचिने नाच हो भन्न सकिन्छ । खासगरी बागलुङ, गुल्मी, गोरखा, तनहुँ र लमजुङमा हेम्फै नाच्ने गरिन्छ । यद्यपि, हाल यो नाचको अवस्था लुप्त प्रायः छ । नयाँ पुस्ता यसप्रति आकर्षित नभएकाले पुस्तान्तरण नभए लोप हुने खतरा बढेको छ ।

मङ्सिर १ देखि ९ गतेसम्म सञ्चालित प्रथम बडिगाड महोत्सवमा हेम्फै नाच प्रदर्शन गरिएको थियो । हेम्फै नाच महोत्सवको प्रमुख आर्कषणको रुपमा रहेको थियो । महोत्सव हेर्न आउने दर्शक हेम बहादुर क्षेत्रीले हेम्फै नाच आफूले पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिनुभएको थियो ।

खासगरी बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट नगरपालिकामा रहेका कुमाल समुदायको यो नाच अति लोपोन्मुख अवस्थामा छ । गुल्मी मुसिकोट नगरपालिकाका टेक बहादुर कुमालले भने – “हेम्फै नाचलार्ई प्रर्वद्धन गर्न सकियोस् भनेर मेला तथा उत्सवहरुमा प्रदर्शन गर्न थालेका छौं ।”

“हेम्फै नाचका बारेमा धेरैलाई थाहा छैन,” बागलुङ जिल्ला बडिगाड गाउँपालिका–३ हाँडिखोलाका झलक कुमालले भने – “अचम्म खालको यो नाचको उचित व्यवस्थापन गर्न सकिए निश्चित रुपमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” हेम्फै नाच हेर्ने जो कोही अचम्ममा पर्छन् र मन्त्रमुग्ध हुन्छन् ।

मनै लोभ्याउने यस्तो नाचलाई स्थानीय स्तरमा घरबास (होमस्टे) सञ्चालनसँगै पाहुनासामु पस्किन सकिने बडिगाडका स्थानीयवासी मुना कुमाल बताउछन् । रासस

तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.