www.tandavnews.com
Fact ~ In search of truth

कृषकका लागि आधुनिक मिनी टेलर हलो वरदान

गलकोट ।

बागलुङ नगरपालिका–३ का अगुवा किसान नारायणप्रसाद शर्माले मिनी टेलर (हलो)ले खेत जोत्न थालेको दश वर्ष भयो ।

दश वर्ष अगाडिबाट हलोलगायत कृषि औजार बिक्री गर्दै आएका पङ्गाली मेशिनरीमा आएको पहिलो मिनी टेलर हलो किनेर जोतेको स्मरण गर्दै शर्माले भने, “शुरुमा प्राविधिक ज्ञान नभएका कारण समस्या भए पनि अहिले म जस्ता कृषकका लागि आधुनिक मिनी टेलर हलो वरदान साबित भएको छ ।”

हाल नेपालका पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ । कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको माग बढेको हो ।

पछिल्लो समयमा किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकाई छोडाउने क्रन थ्रेसर लगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोवार समेत बढेको छ । कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनी टेलर हलो अत्यधिक रुचाएका छन् । थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो भएका कारण गोरुको विकल्पका रुपमा मिनी टेलर हालो बनेको हो ।

धेरै खेतीपाती गर्दा थोरै समय र कम खर्चमा जोत्न सकिने आधुनिक मिनी टेलर हलोले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्ने कृषकहरु बताउँछन् । बागलुङमा विभिन्न क्षमता र गुणस्तरका आधारमा ३० हजार देखि ७० हजार रुपैयाँसम्मका सो हलोको कारोवार हुदैँ आएका पङ्गाली मेशिनरीका सञ्चालक कलानिधि पौडेलले बताए ।

बागलुङ जिल्लामा हाल तीन वटा मेशिनरी सप्लायर्सले मिनी टेलर हलोलगायत अन्य कृषि औजारको व्यापार गर्दै आएका छन् । गोरुको माध्यमले खेतबारी जोत्दा समय तथा स्रोत बढी खर्च हुने भएकाले ८ वर्षदेखि मिनी टेलर हलोले खेतबारी जोत्दै आएको बडिगाड गाउँपालिकाका किसान मेयर सिङ्ग पाइजाले बताए । “मैले गोरुले जोत्दाभन्दा मिनी टेलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत कम लागत लागेको अनुमान गरेको छु,” पाइजाले भने ।

जिल्लामा बर्सेनी हलोको खपत सङ्ख्या क्रमशः बढ्दै गएको मेशिनरी सप्लायर्सहरुले बताएका छन् । यो वर्ष पर्वत, म्याग्दी र बागलुङमा गरी झण्डै एक हजार मिनी टेलर हलोको व्यापार भइसकेको सञ्चालक पौडेलले जानकारी दिए ।

उनले चीनको विभिन्न शहरबाट सिधै नेपाल भित्र्याउँदा किसानलाई सस्तो मूल्यमा मिनी टेलर हलो लगायतका औजार प्रदान गर्न सकेको बताए ।

स्थानीय सरकार आइसकेपछि किसानलाई सहुलियतका रुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदानमार्फत समेत मिनी टेलर हलो वितरण हुन थालेका छन् । यस कारण पनि हलोको कारोवारमा वृद्धि भएको छ । अहिले जिल्लाका प्रत्येक किसानको घर–घरमा मिनी टेलर छ भने परम्परागत रुपमा जोतिने गोरु कही कतै मात्र देख्न पाइने गरेको छ ।

मेशिनरी औजारको प्राविधिक ज्ञान सीप तथा मर्मतसम्भार हलो बिक्रेताले नै प्रदान गर्ने भएपछि किसानलाई सहज भएको छ । गोरुलाई जस्तो वर्षभरि पालेर राख्नु नपर्ने हुँदा मिनी टेलर हलोले जोत्दै आएको कृषक गङ्गा थापाले बताउछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.