www.tandavnews.com
Fact ~ In search of truth

कोमागाने पार्क संरक्षणमा महानगरको चासो

पोखरा ।

पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ ।

पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्ने यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएको कलाकृति समेत ओझेलमा परेको थियो । झारभित्र हराएर बेवारिसे बनिरहेका तिनै कलाकृतिलाई पछिल्लो समय पोखरा महानगरपालिका–६ ले संरक्षणका लागि चासो दिएको हो ।

पार्कमा सिधैँ गाडी लैजाने, कतिपय विदेशीले क्याराभान गाडी लिएर त्यहीँ पार्किङ गर्ने र तिनै कलाकृतिमाथि कपडा सुकाउने गरेका दृश्यसमेत देखिन्थे । तालको छेउमा अर्को बसुन्धरा पार्कसमेत रहेको छ । सो ठाउँमा समेत विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उचित चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ ।

वडाध्यक्ष जगत पहारीले पार्कको महिमा र महत्वलाई कायम राख्न वडाले काम शुरु गरेको र पार्क व्यवस्थापनका लागि मूर्ति संरक्षणमा जोड दिँदै वरिपरी गिट्टीले सजाइएको र कलाकारको नेमप्लेट राखिएको बताए ।कोमागाने पार्कमा केदारेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा पूजाआजा गर्न भक्तजन आउने, विवाह भोजभतेर हुने तर कुनै व्यवस्थित नियम नहुँदा त्यसले पार्कको सौन्दर्यलाई विनाश गर्दै लगेको बताउछन् राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल ।

जापानको कोमागाने शहर र पोखराबीच सन् २००२ मा भगिनी सम्बन्धमा स्थापित भएपछि सो पार्कको कोमागाने नामकरण गरिएको हो । रासस

तस्बिर गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.