www.tandavnews.com
Fact ~ In search of truth

कोरला नाका जोड्ने मुस्ताङको छुसाङमा मोटर चल्ने पक्की पुल

म्याग्दी ।

कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ ।

छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो ।

पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले जानकारी दिए । कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ । ७७.२ मिटर लामो पुल ११ मिटर फराकिलो छ ।

‘पुल बनेपछि जोमसोमदेखि लोमान्थाङसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ’, मुखिया गुरुङले भने, ‘सडक यातायात सहज भएपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा आउनेहरुको सङ्ख्या बढेको छ ।’

पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङको दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । दैनिक उपभोग्य, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ ।

डोलिडारले पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससँग चार करोड ७३ लाख ८८ हजार ६८ मा विसं २०७३ असार ११ मा सम्झौता गरेको थियो । गलत डिजाइनका कारण पुल निर्माणका क्रममा बस्तीतर्फ कटान हुने र खोला एकातिर पुल अर्कोतिर बन्ने अवस्था सिर्जना भएपछि अलपत्र बनेको थियो ।

विसं २०७४ मा सांसद प्रेमप्रसाद तुलाचनको पहलमा डोलिडारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयवासीबीच पुलको डिजाइन परिवर्तन गरेर बस्तीलाई असर नपर्ने र प्रयोग हुने गरी डिजाइन परिवर्तन गराउने सहमति भएपछि पुल निर्माण अघि बढेको थियो ।

छुसाङको बस्ती संरक्षणका साथै पुल निर्माण भएपछि कोरला नाकासम्मको सडक पहुँच सहज भएको सांसद तुलाचनले बताए । ‘छुसाङ र पाण्डाखोलामा मोटरेबल पुल बनिसकेको छ’, तुलाचनले भने, ‘जोमसोम–कोरला खण्डको ११० किलोमिटर सडक सात प्याकेजमा स्तरोन्नतिसँगै विभिन्न ठाउँका खोलामा मोटर चल्ने पुल बनाउने काम भइरहेको छ ।’ रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.