www.tandavnews.com
Fact ~ In search of truth

क्यान इन्फोटेकको पूर्व सन्ध्यामा दृष्टिबिहीनलाई कम्प्युटर तालिम

पोखरा ।

दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो ।

कम्प्युटर शिक्षा तालिमको मंगलबार एक कार्यक्रमका बीच ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा दृष्टिबिहीनहरुका लागि आयोजित कम्प्युटर शिक्षा तालिममा सहकार्य गरेको बताए । ‘प्रतिस्पर्धाको समयमा सूचना तथा प्रविधिको ज्ञान अनिवार्य भएको हुँदा दृष्टिबिहीनहरुका लागि कम्प्युटर शिक्षा तालिम आयोजना गर्नु निकै राम्रो काम हो,’ उनले भने ।

Batas

क्यानका गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोलाले हरेक वर्ष क्यानले रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले औपचारिक शिक्षासँगै कम्प्युटरको ज्ञान अनिवार्य भएकाले दृष्टिबिहीनहरुका लागि कम्प्युटर शिक्षा आयोजना गर्नु निकै प्रशंसनीय भएको बताए ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकको तयारीलाई तिब्र बनाइएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । ‘क्यान इन्फोटेकको पूर्व सन्ध्यामा दृष्टिबिहीनहरुलाई कम्प्युटर शिक्षा प्रदान गरेर रचनात्मक काम गर्न लागेका छौं,’ उनले भने । अघिल्लो वर्ष क्यानले गृहिणीहरुका लागि कम्प्युटर शिक्षा प्रदान गरिएको थियो ।

क्यान कास्कीका सदस्य शवी शेरचनको संयोजकत्वमा तालिम आयोजना गरिएको हो । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलकोे अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय अपाङग महासंघका गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा, क्यान कास्कीका सचिव विकास भुर्तेल लगायतले बोलेका थिए । तालिम अमरसिहं स्थित सेगा कम्युटर इन्टिच्युटमा सञ्चालन गरिएको छ ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, प्रमोटेट बाईमा कंगारु एजुकेसन फाउण्डेसन, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले साथ दिएको छ । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.