www.tandavnews.com
Fact ~ In search of truth

क्षतिग्रस्त तनहुँका ५२ विद्यालय भवन बन्दै

 

 

दमौली ।

भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको नयाँ भवन निर्माण शुरु भएको हो ।

Batas

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० ले जिल्लाका ५२ क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि २३ करोड चार हजार ४ सय ९६ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० तनहुँका प्रमुख सूर्यप्रसाद रानाभाटले पुनःनिर्माणका लागि छनोट भएका विद्यालयलाई भवन निर्माणका लागि केही प्रतिशत रकम पेश्कीस्वरुप दिइसकिएको जानकारी दिए। उनले पुनःनिर्माण हुने सबै विद्यालयको ले–आउट कार्य सम्पन्न भई प्रायः विद्यालयमा जगको काम भइरहेको जानकारी दिए ।

चालू आर्थिक वर्षमा व्यास नगरपालिकाको आठ, भानु नगरपालिकाको १२, शुक्लागण्डकी नगरपालिकाको छ, भिमाद नगरपालिकाको छ, बन्दीपुर गाउँपालिकाको तीन, रिसिङ गाउँपालिकाको चार, आँबुखैरेनी गाउँपालिकाको तीन, देवघाट गाउँपालिकाको चार, घिरिङ गाउँपालिकाको पाँच र म्याग्दे गाउँपालिकाको एक विद्यालय भवन पुनःनिर्माण हुने कार्यान्वयन एकाइ तनहुँले जनाएको छ ।

चालू आवमा प्राप्त कार्यक्रमअनुसार समयमा नै पुनःनिर्माण प्रस्ताव माग गरी स्थलगत निरीक्षणपश्चात् भूकम्पको क्षति र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय पुनःनिर्माण गर्न छनोट गरिएको आयोजनाका इञ्जिनीयर अनिल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्यालयको पुनःनिर्माण विद्यालय व्यवस्थापन समितिले नै गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र आयोजना कार्यान्वयन एकाइबीच सम्झौता गरिएको छ ।

२० विद्यालय भवन पुनःनिर्माण

भूकम्पले तनहुँको २९१ विद्यालय भवन क्षति भएको थियो । जसमध्ये हालसम्म २० वटा विद्यालय भवनको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ११ वटा र आर्थिक वर्ष २०७४÷७५ मा नौ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताए ।

बीस विद्यालय भवनको लागि सात करोड ७१ लाख ४८ हजार ९ सय ६४ बजेट खर्च भएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.