www.tandavnews.com
Fact ~ In search of truth

खपत ह्वात्तै घटेको सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

Batas

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ । तीव्र वृद्धिका बीचमा सुनको मूल्य आज प्रतितोला रु ९०० ले घटेको हो ।

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ कारोवार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन् । विश्व बजारमा आज सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ । मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ । सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.