www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा डेंगुको जोखिम नघट्दै बढ्यो स्क्रबटाइफसको संक्रमण

पाेखरा । 

 यस वर्ष धरानबाट सुरु भएको डेंगुले देशका ६० बढि जिल्लामा संक्रमण फैलिएको छ । संक्रमण दर अझ बढ्ने देखिन्छ । गण्डकी प्रदेशमा मात्रै डेंगु संक्रमितको संख्या झण्डै दुई हजार एकसय छन् । डेंगुले प्रकोपकै रुप लिइरहेको बेला देशका झण्डै ६० वटै जिल्लामा अर्काे रोगको संक्रमण फैलिएको छ । करिब २ महिनाको बीचमा स्क्रबटाइफको संक्रमण ६० भन्दा धेरै जिल्लामा फैलिएको छ ।
गण्डकीको कुन जिल्लामा कति विरामी ?
गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ८ जिल्लामा यसको संक्रमण फैलिएको छ । गण्डकीको मनाङ, मुस्ताङ र म्याग्दी बाहेकका सबै जिल्लामा स्क्रबटाइफको बिरामी देखिएका छन् । प्रदेशको सबैभन्दा धेरै गोरखामा यसको विरामी देखिएका छन् । गोरखामा स्क्रबटाइफको विरामी १२ जना देखिएका छन् । गोरखापछि नवलपरासी पूर्वमा ११ जना, स्याङ्जामा १० जना, बाग्लुङमा ७ जना, तनहुँमा ५ जना, पर्वतमा ३ जना, लम्जुङमा २ जना र कास्कीमा १ जना विरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अरु प्रदेशमा कति छन् विरामी ?
गण्डकी प्रदेशमा जस्तै अरु प्रदेशका जिल्लामा पनि स्क्रबटाइफका बिरामी भेटिएका छन् । प्रदेश १ मा १८ जना, प्रदेश२ मा २२ जना, प्रदेश ३ मा २०४ जना, प्रदेश ५ मा २३७ .जना, कर्णाली प्रदेशमा ८ जना स्क्रबटाइफका भेटिएका छन् । इपिडिमीयोलोजीका महानिर्देशक डा. विवेकलालका अनुसार यसका विरामीको संख्या पनि बढ्दो छ । ‘डेंगु नियन्त्रण नहुँदै अर्काे रोग झन खतरा बनेर आएको छ’ उनले भने ।
कसरी लाग्छ स्क्रबटाइफ ? कस्ता हुन्छन् लक्षण ?
यो रोग मुसामा पर्ने किर्नाबाट सर्ने रोग हो । चिकित्सकहरुका अनुसार मुसाले झाडी तथा घरभित्र बस्ने क्रममा किर्ना छोड्ने र त्यो किर्नाले टोकेपछि ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु रगतमा प्रवेश गरेपछि स्क्रबटाइफस रोग लाग्छ । किर्नाले टोकेको पाँचदेखि ६ दिनभित्र संक्रमण हुन्छ । ज्वरो तथा पसिना आउने, टोकेको भागमा कालो दाग बस्ने या शरीरभरि रातो बिमिरा आउने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखिन्छन् । किर्नाले टोकेको भागमा कालो दाग देखिन सक्छ । मुसा बसेको वरिपरी खाली खुट्टा हिँड्ने मान्छेलाई यसको संक्रमणको खतरा हुन्छ ।
धेरै ज्वरो आउनु, टाउको धेरै दुख्ने, पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने पनि यो रोगका लक्षणहरु हुन । यो रोगको समयमै उपचार नभएमा स्नायु प्रणालीहरु मस्तिष्क सुन्निने, कलेजो, मुटु, मिर्गौला बिग्रिने जस्ता समस्या देखिन्छ , । समयमा उपचार भएन भने विरामीको मृत्यु समेत हुन्छ । मुसा नियन्त्रण नै यो रोगको न्यूनिकरणको सबैभन्दा राम्रो उपाय हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.