www.tandavnews.com
Fact ~ In search of truth

गलकोटमा पहिरोले मृत्यु भएका मृतक परिवारलाई प्रशासनको राहत

बागलुङ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले एक लाख रुपैयाँ राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक गौतमका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरेको हो ।

अविरल वर्षाका कारण पहिरोले गोठ पुर्दा भैँसी दुहुँदै गरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको थियो । पहिरोले दुई भैँसी तथा एक बाख्रासमेत पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । मृतक परिवारलाई गलकोट नगरपालिकाले क्रिया खर्चवापतको २० हजारसमेत उपलब्ध गराउने निर्णय गरेको गलकोट नगरपालिका–८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताए ।

मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकाले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरिएको हो । मृतकका तीन दिदीको विवाह भइसकेको र सीता भने अविवाहित रहेको वडाध्यक्ष कँडेलले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.