www.tandavnews.com
Fact ~ In search of truth

गलकोटमा व्यावसायिक फूलखेती

बागलुङ ।

गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताए ।

‘अहिले एउटा टनेलमा मात्र फूलखेती छ’, उनले भने, ‘तीन महीनामै तयार भयो, केही बेच्यौँ ।’ मासिक एक हजारमा जग्गा भाडामा लिई फूलखेती गरिएको उनको भनाइ थियो । फूलखेतीमा ३५ हजार लगानी परेको छ । अहिले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन भइरहेको छ ।

मौसमअनुसार अरु फूलको पनि व्यावसायिक खेती गर्ने योजना समूहको छ । फूलखेतीमा आकर्षण बढाउन गलकोट नगरपालिका–३ ले गत जेठमा १५ दिने तालीम दिएको थियो । सुर्खेतदेखि आएका प्रशिक्षकले स्थानीय १५ जनालाई फूलखेतीसम्बन्धी सीप सिकाएका थिए ।

‘तालीम र अनुदानमा बीउ पाएपछि व्यावसायिक रुपमा फूलखेती शुरु गर्यौ’, समूहका सदस्य मीना श्रेष्ठले भने, ‘फूलखेतीलाई थप विस्तार गर्छौं, गलकोटलाई फूलबाट चिनाउँछौँ ।’ समूहमा आबद्ध चार महिला मिलेर व्यावसायिक ‘फार्म’ ‘गलकोट फ्लोरी कल्चर एण्ड नर्सरी’ दर्ता गर्ने तयारीमा छन् ।

चार÷पाँच रोपनी जग्गा व्यवस्थापन गरेर फूलखेती र नर्सरी व्यवसायलाई विस्तार गरिने सदस्य श्रेष्ठको भनाइ छ । सयपत्री फूल प्रतिकिलो दुई सय, तयारी माला एक सय र बिरुवा २० रुपैयाँमा बेच्ने गरिएको छ । बागलुङ सदरमुकामसहित बजार क्षेत्रलाई लक्षित गरी फूलखेती गरिएको समूहले जनाएको छ ।

समूहबाट पहिलोचोटि बागलुङ कालिका भगवती मन्दिरले दश किलो फूल खरीद गरेको थियो । बागलुङमा हुने शुभकार्य र सार्वजनिक समारोहमा अहिले पनि पोखरादेखि फूल ल्याउनुपर्ने बाध्यता छ । अहिलेसम्म फूलको व्यवस्थित र व्यावसायिक खेती हुन सकेको थिएन । जिल्लाको माग धान्ने गरी उत्पादन गर्ने लक्ष्य समूहले बनाएको छ ।

खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने र उद्यमशीलतामा टेवा पु¥याउने उद्देश्यले फूलखेतीमा सहयोग गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । फूलखेतीसम्बन्धी तालीमका लागि गत आवमा वडाले रु एक लाख बजेट छुट्टाएको थियो ।

‘परीक्षणस्वरुप गरिएको फूलखेती सफल भएको छ’, अध्यक्ष भण्डारीले भने, ‘फूलखेतीलाई व्यावसायिक रुपमै विस्तारका लागि वडा थप सहयोग गर्न तयार छ ।’ रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.