www.tandavnews.com
Fact ~ In search of truth

गलकोटमा हिउँ खेल्न पर्यटकको घुइँचो,होटल अभाव

गलकोट ।

बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ ।

जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ । हिमपातपछि रमाइलो गर्न दैनिक सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यका र थामाको नेटा परेको छ ।

चिसोका कारण सुनसान बनेको ढोरपाटन शिकार आरक्ष कार्यालय रहेको उपत्यका क्षेत्रमा हिमपातपछि पुनः चहलपहल बढेको छ । जिल्ला सदरमुकामदेखि ढोरपाटन पुग्ने सडकको स्तरोन्नति भएसँगै यस वर्ष अहिलेसम्मकै बढी पर्यटक आएको स्थानीयवासीले बताएका छन् । छिमेकी जिल्लालगायत राजधानीबाट समेत पर्यटक हिउँमा खेल्न आएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए।

सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य ढोरपाटन र गाजाको दहप्रति पर्यटक आकर्षित भएका हुन् । केही दिनदेखि लगातार हिमपात भएसँगै ढोरपाटन उपत्यका, ढोरबराह क्षेत्र आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको स्थानीयवासी वीरबहादुर थापाले बताए । पर्यटकको आगमन बढेसँगै होटलमा बस्न समस्या भएको छ । ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा अवस्थित छ ।

सदरमुकाममा बस्ने अधिकांशले हिउँसँग खेल्न पाउँदा खुशी प्रकट गरेका छन् । “हिउँमा खेल्न पाउँदा साह्रै रमाइलो भयो”, थामाको नेटा हिउँमा खेल्न आएका सूर्य खड्काले भने । जिल्लाको ढोरपाटन, ताराखोला, निसीआसपासका क्षेत्रमा मात्र पर्ने हिउँ यसपालि बागलुङको अधिकांश स्थानमा परेपछि कृषक उत्साहित बनेका छन् । हिउँ खेल्नकै लागि ढोरपाटन जानेको सङ्ख्या ह्वात्तै बढेको छ । होटल तथा रेष्टुराँको कारोवारसमेत बढेको छ । रासस

तस्बिर : गलकोट क्रियसनको पेजबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.