www.tandavnews.com
Fact ~ In search of truth

गुल्मीमा शिक्षकलाई तलब खुवाउन महायज्ञ

गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ ।

विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए । माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल एक जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि चार जनाको मात्रै दरबन्दी छ ।

विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिकस्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।

‘धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौँ तर उपलब्ध भएन’, प्रध्यानाध्यापक बोहोराले भने, ‘माविलाई दिगो समयसम्म सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।’ विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्ने भनिएतापनि त्यसको भने केही निश्चिचता नभएको उनले बताए । महायज्ञमा संकलन र बचत हुने रकमका आधारमा उच्च शिक्षाको निर्णय लिइने उनले बताए ।

नगद पण्डितलाई, बाँकी आयोजकलाई

जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकांश विद्यालयद्वारा आयोजना गरिएका छन् । केही महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केही पण्डित आफैँ आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् । यस्ता धार्मिक महायज्ञमा पण्डितले उठेको रकम जति आफूले लैजाने र बाँकी बोलकबोल रकम आयोजक संस्थालाई छाड्ने गरेको पाइएको छ ।

अधिकांश ठाउँमा विद्यालय र पण्डितको समूहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले सञ्चालन गरिरहेका छन् । अहिलेसम्म उनले लैजाने रकमको सुनिश्चितता भएको छैन । तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.