www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका प्रमुख इञ्जिनियर दीपकबाबुद्धारा विपन्नको स्वास्थ्य बीमा

गोरखा ।

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गरेका छन् । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गरेका हुन् ।

उनले पहिलोपटक सोमबार पालुङटार नगरपालिका–४ का कृष्णबहादुर घर्तीका सबै परिवारको स्वास्थ्य बीमा गराएका छन् । “मैले मेरो कार्यकालको एक वर्षभरि प्राप्त सबै सेवासुविधाको रकम विपन्न तथा असाहय परिवारको स्वास्थ्य बीमा गराउने घोषणा गरेको थिएँ, नगर प्रमुख कँडेलले भने, त्यही प्रतिबद्धताअनुरुप नगरपालिकाभित्र रहेका विपन्न परिवारका व्यक्तिको बीमा गराउन शुरु गरेको हो ।”

Batas

आफू पालुङटारको आँपपिपल अस्पतालको अध्यक्ष भएपछि थोरै पैसाको अभावले समेत बिरामीले स्वास्थ्य उपचारमा समस्या भोग्नुपरेको देखेकाले अभियान शुरु गरेको उनले बताए ।

नगर प्रमुख कँडेलले एक वर्षको तलब भत्ताको रकमले नगरपालिका प्रत्येक वडाका कम्तीमा पाँच विपन्न परिवारका लागि स्वास्थ्य बीमा गराउन पुग्ने बताए । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारका लागि तीन हजार ५०० ले एक लाखसम्म रुपैयाँको सेवा प्राप्त गर्न सक्नेछन् ।

नगर प्रमुख कँडेलले परिवारका सबै सदस्यको स्वास्थ्य बीमा गराइदिएपछि घर्ती परिवार पनि खुशी भएका छन् । “आफैले बीमा गरेर उपचार सेवा लिने सक्ने हाम्रो अवस्था नै छैन”, घर्तीले भने, “आफूजस्तो परिवारका लागि उहाँले गर्नुभएको सहयोगले मेरो परिवारका लागि ठूलो राहत भएको छ ।”

नगरपालिकाले पनि स्वास्थ्य उपचारका लागि आर्थिक समस्यामा परेका असाहय तथा विपन्न नागरिकले सहयोग गर्दै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.