www.tandavnews.com
Fact ~ In search of truth

गोरखाको धार्चेमा व्यावसायिक स्याउ खेतीका लागि परीक्षण

गोरखा ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सहयोगमा गाउँपालिकाभित्रका भूकम्पपीडितको जीविकोपाजर्नमा टेवा पुर्याउने उद्देश्यले स्याउ खेतीको विकासलाई अघि बढाउन लागिएको उनले बताए । “अहिले सबै वडामा दुई–दुई सय दरले स्याउको बेर्ना वितरण गरेका छौँ”, अध्यक्ष गुरुङले भने, वितरण गरिएका बेर्ना रोप्ने काम शुरु भएको छ ।’

गाउँपालिकाले सवै वडामा सामूहिकरूपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । “दर्ता भएका सबै समूहलाई गाउँपालिकाले सूचीकृत गर्नेछ”, उनले भने, “पाएसम्म सार्वजनिक जग्गामा सामूहिक खेती शुरु गर्ने र सार्वजनिक जग्गा नभएमा भाडामा समूहले जग्गा लिएर भए पनि सामूहिकरुपमै खेती गर्नुपर्ने गरी गाउँपालिकाले कार्यविधि बनाएको छ ।”

प्रत्येक घरमा एउटा–एउटा स्याउका बेर्ना लगाउँदा त्यसको व्यावसायिक प्रर्वद्धन गर्न समस्या हुने भएकाले गाउँपालिकाले सामूहिक खेतीमा जोड दिएको उनको भनाइ छ । “वितरण गरिएको स्याउको एउटा बेर्नाको नर्सरीमै रु एक हजार ५०० परेको छ, उनले भने, यहाँ गाउँसम्म ल्याइपुर्याउँदा दुई हजार ५०० सम्म पुग्नसक्छ ।” वितरण गरिएको स्याउ रोप्नका लागि एक महीनादेखि नै खाल्डो खन्ने, मल राख्ने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

एग्रो मनाङ नर्सरीमार्फत डाला, फुजी र गोल्डन जातका इटालीबाट झिकाएर वितरण गरिएको उक्त उन्नतजातको स्याउ एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उनले बताए । करीब दुई हजार मिटर उचाइको भूभागमा राम्रो हुनसक्ने भएकाले वितरण उन्नतजातको स्याउ धार्चेका सबै वडामा राम्रो उत्पादनको सम्भावना रहेको जानकारी दिए ।

वितरण गरिएको स्याउको बेर्नाले उत्पादन दिने भएकाले भूकम्पपीडितले छिटो आम्दानी गर्नसक्ने उनको भनाइ छ । एक वर्षभित्रमा हुने उत्पादनलाई आधार मानेर धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रूपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.