www.tandavnews.com
Fact ~ In search of truth

गोसाइँकुण्ड मेलामा उपचारको प्रबन्ध

रसुवा ।

यही साउन ३० गते जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका यात्रुको प्राथमिक उपचार गर्ने स्थान छनोट भएको छ ।

विगतको भन्दा यस वर्ष चिकित्सकको सङ्ख्या थप गरिएकाले उपचार सेवा बढी प्रभावकारी हुने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार भक्तजनले पवित्र तीर्थ गोसाइँकुण्ड पुग्ने लक्ष्यका साथ धार्मिकमार्गको छ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तय गरी काम गर्न इच्छा प्रकट गर्ने संस्थालाई सेवाको स्थान छनोट गरिसकिएको छ ।

हिमालय उद्धार सङ्घले सदाझैँ गोसाइँकुण्डमा, सक्षम नेपाल संस्थाले बुद्वमन्दिर एवं लौरीविनायकमा, चोलाङपाटीमा नेपाली सेना कालिजङ्ग गणले, चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिटले र घट्टेखोला तिवारी बगरमा स्वास्थ्य कार्यालयले उपचार सेवा दिने तय भएको बताइएको छ ।

हिमालय उद्धार सङ्घको तर्फबाट गोसाइँकुण्डका लागि चिकित्सक क्रमशः सविद्रराज पन्थ, सुरज श्रेष्ठ, शङ्कर भण्डारी, आसना भण्डारी, सारामसिक भण्डारी, अनुपमा भट्टराई र थानेश्वर भण्डारी औषधि र अक्सिजनसहित त्यसतर्फ परिचालन भइसकेको उक्त संस्थाका कार्यकारी निर्देशक प्रकाश अधिकारीले बताए ।

यसैगरी चन्दनबारीका लागि पाटन अस्पताल मातहतबाट आएका डा द्वय दिवाकर सुवेदी तथा विषम दाहाल परिचालन भएको बताइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजङ्ग गणले भने चोलाङपाटीमा एक चिकित्सकसहित छ स्वास्थ्यकर्मीको टोली र ठाउँ–ठाउँमा उद्धार टोलीको व्यवस्था गरिसकेको उक्त गणले जनाएको छ ।

गोसाइँकुण्ड मेला व्यवस्थित एवं मर्यादित बनाउन र यात्रुको सुरक्षाका लागि सबै सुरक्षा अङ्ग परिचालन हुने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.