www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र महोत्सव भोली(बिहीबार)देखि

काठमाडौं ।

‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ भोली (बिहीबार)देखि काठमाडौंमा शुरु हुने तीनदिने नेपाली चलचित्र महोत्सव आकर्षणको विषय बन्दै गएको छ ।

नेपाल चलचित्र निर्माता संघले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले राससलाई जानकारी दिए । उनले भने, ‘यो महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने छ ।’

नेपाली भाषी चलचित्रले तराई–मधेशमा वर्चस्व कायम राख्न नसकेको अवस्थामा दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताए ।

उपत्यका बाहिर पहिलो पटक यस आर्थिक नगरमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्नाका साथै भारतीय लोकप्रिय कलाकार गोविन्दासमेत सहभागी हुने भएकाले पनि यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरे।

महोत्सवमा नेपाली चलचित्रका पुराना हस्ती शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायत नेपाली चलचित्रसँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने उपसंयोजक हरि पन्तले बताए ।

स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ। एक करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सो महोत्सवका लागि प्रदेश नं २ को सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख र प्रादेशीक पर्यटन प्रर्वद्धन समितिले समेत केही रकम उपलब्ध गराएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.