www.tandavnews.com
Fact ~ In search of truth

चाडपर्वको बेला ठगिए उपभोक्ता

म्याग्दी ।

म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् ।

चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् ।
“पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ” बेनी बजारको एक पसलमा भाइटीकाका लागि सामान किन्दै गरेकी बेनपा–४ की राधा पौडेलले भने, “पसलेले जति भन्छन्, त्यतिनै मूल्य तिर्नुपर्ने बाध्यता छ ।”

Batas

पसलमा मूल्य सूची नटाँस्ने र सम्बन्धित निकायले कडाइका साथ बजार अगुगमन नगरेका कारण उपभोक्ता ठगिने गरेका हुन् । बजारमा एकातिर मूल्यमा उपभोक्ता ठगिएका छन् भने अर्कोतिर वस्तुको गुणस्तर र तौलमा पनि ठगिँदै आएको उपभोक्ता बताउँछन् ।

जिल्लाको बेनी, गलेश्वर, तातोपानी, बावियाचौर, दरवाङलगायत अन्य स्थानीय बजारका पसलमा मूल्यसूची टाँसेको देखिदैन । बिक्रेताले वस्तुको मूल्य जति भन्छन् उपभोक्ताले उति नै तिर्न बाध्य छन् ।

कुन वस्तुको मूल्य कति भन्ने जानकारी नहुँदा उपभोक्ता ठगिएका हुन् । बजारमा पसलैपिच्छे सामानको दर समेत फरक÷फरक रहेको उपभोक्ताको गुनासो छ ।

यसैगरी अखाद्य वस्तुको मिसावट, कम तौल, कम गुणस्तर भएका वस्तुबाट पनि उपभोक्ता ठगिएका छन् । ग्रामीण भेगका कतिपय पसल विना दर्ता सञ्चालन भइरहेका छन् भने किराना पसलमा घरेलु मदिराको समेत निर्वाध रूपमा बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् ।

बेनीबजारको पसलमा पाइने मलखाद, जीरा, धनिया, तोरीको तेल, मैदाजस्ता वस्तुमा अन्य विभिन्न वस्तुको मिसावटका साथै तौलमा पनि कमी पाइएको उपभोक्ताको आरोप छ ।

सरकारी निकायबाट नियमित बजार अनुगमन नभएका कारण उपभोक्ता ठगिन बाध्य बनेको उपभोक्ताको गुनासो छ । चिनी, चियापत्ती, नुन, दाल, चिउरा लगायत अन्य दैनिक उपभोग्य सामान पसलै पिच्छे भाउ फरक रहेको उनीहरूको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले भने समय–समयमा पसल अनुगमन गर्ने गरेको र दर्ता नगरी सञ्चालन भएका, म्याद नाघेका वस्तु राखेको पाइएको र कालोबजारी गर्ने गरेका पसल सञ्चालकलाई कारवाही गर्ने गरेको जनाएको छ ।      रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.