www.tandavnews.com
Fact ~ In search of truth

चीनमा विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता,नेपाली सेना पहिलोपटक सहभागी

काठमाडौं ।

सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा सहभागी राष्ट्रको आज चीनमा झण्डोत्तोलन भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए ।

Batas

समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो । चिनियाँ जनमुक्ति सेनाले यहाँस्थित सैनिक खेलकूद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ ।

प्रतियोगितामा भाग लिन बुधबार राति सबै नेपाली खेलाडी यहाँ आइपुगेका हुन् । शुक्रबार भव्य समारोहबीच उद्घाटन हुने उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ ।

नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन् ।

मस्कट ‘विङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्णपदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजका रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ हो ।

उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन हुने सबै स्थान मोटरबाट ४० झण्डै मिनेटभित्रै पुग्न सकिने दूरीमा रहेकाछन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’नाम दिइएको छ भने ट्रफिलाई ‘शान्तिको प्रतिक’को संज्ञा दिइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.