www.tandavnews.com
Fact ~ In search of truth

छाब्दीबाराही जाने सडक कालोपत्रेका लागि तीन सरकारको लगानी

दमौली ।

एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् ।

दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले दुई करोड, सङ्घीय र प्रदेश सरकारले एक÷एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरु भएको छ ।

Batas

उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए ।दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा सङ्घीय सरकारले विनियोजन गरेको एक करोडबाट पक्की नाला निर्माण र करीब ८०० मिटर सडक कालोपत्रे शुरु भएको पण्डितले बताए ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको एक करोडबाट छाब्दीबाट दमौलीतर्फ आउने त्यति नै दूरी सडकमा पक्की नाला निर्माणसहित सडक चौडा र कालोपत्रेको काम शुरु गर्ने तयारी गरिएको छ ।यसैगरी ब्यास नगरपालिकाले विनियोजन गरेको दुई करोड बजेटबाट भड्खलादेखि गौंडाको पहराको पूर्वतर्फको उकालोसम्मको सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । बस नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटै आयोजनालाई तीन सरकारले बाँडेर आ–आफ्नो तरिकाले काम गर्ने र त्यहाँका जनतालाई सबैले यो योजना हाम्रो हो भन्ने जटिल अवस्था सिर्जना भएको बताए ।सङ्घ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले छाब्दीमार्गलाई उच्च प्राथमिकतामा राखेर वर्षा शुरु हुनु अगाडि नै कालोपत्रे सकिने गरी काम गरिने बताए ।उक्त सडक कालोपत्रे नहुँदा वर्षायामको समयमा हिलो र हिउँदमा धुलोले सर्वसाधारण मर्कामा पर्दै आएका थिए ।

स्थानीयवासीले छाब्दी मार्ग कालोपत्रेका लागि जनप्रतिनिधिलाई पटक÷पटक दबाब दिँदै आएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.