www.tandavnews.com
Fact ~ In search of truth

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : अध्यक्ष दाहाल

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याइएको छ ।’, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ ।’

Batas

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पुर्याउने घटना भएको उल्लेख गरे ।

सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुंग्याउने विषयमा समझादारी भएको जानकारी दिए ।

अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताए । यस सम्बन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उनको भनाइ छ ।

पत्रकारहरुको जिज्ञासामा उनले मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताए ।अध्यक्ष दाहालले सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पु¥याउन नपाएको बताउँदै उक्त आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जागरसहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेकपा पाँचथरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल फिदिम पुगेका हुन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.