www.tandavnews.com
Fact ~ In search of truth

छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

 

 

विराटनगर ।

विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ ।

महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद तीन हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ ।

पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमी बैंकमा खाता खोलेर २५ हजार जम्मा गरिदिएको हो । यसरी भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ का रोहिणी कट्टेल र सुमित्रा राय अमात तथा विराटनगर–४ का तारादेवी पोखरेल छन् । महानगरपालिकाले उनीहरुको छोरीको नाममा आमा संरक्षक रहने गरी सो रकम जम्मा गरिदिएको हो ।

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले, “छोरी बचाउ अभियान” सँगै “छोरी पढाउ अभियान” पनि शुरू भैसकेको जानकारी दिए ।

चालू आवमा यो कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ” भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको उपप्रमुख कार्कीले जानकारी दिए ।

महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ । दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए ।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.