www.tandavnews.com
Fact ~ In search of truth

जडीबुटी चोरीको आरोपमा जुम्लामा वडाध्यक्षमाथि कुटपिट

जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ ।

कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले हातपात गरेको आरोप लगाइएको छ । स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् ।

सामुदायिक वनमा पाइने सेतोचिनी ९खिरौँला० चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ । जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ ।

कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे । उनले भने, “यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो तर हातपात र कुटपिट भएको छैन ।” गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

गाउँबाट वडाध्यक्ष रावत विस्थापित

वडाध्यक्ष कालीबहादुर रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए । उनका अनुसार स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेका हुन् । हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए ।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ । वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए ।

सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् । वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका हुन् । डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए।

सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इन्चार्ज थापाले बताए । वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिकरूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए । उनले भने, “जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.