www.tandavnews.com
Fact ~ In search of truth

‘जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर’

काठमाडौँ ।

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन् । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए ।

“अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले पूरा गरे पनि जनताले किन काङ्ग्रेसलाई विश्वास गर्न सकेन”, उनले भने । पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताए । पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उनको भनाइ थियो ।

Batas

उनले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गरे । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाए । सरकारले भर्खरै प्रस्तुत गरेको बजेट सङ्घीयता मजबुत बनाउने खालको नभएको उनको जिकिर छ ।

काङ्ग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरासियाले पार्टीलाई बलियो बनाउन पार्टीले विधानको पालना गर्नुपर्ने बताए । जागरण अभियानलाई गाउँ गाउँसम्म लैजानुपर्ने उनको भनाइ थियो । उनले वर्तमान सरकार जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए। काङ्ग्रेस रौतहटका सभापति कृष्ण यादवले काङ्ग्रेस नेतृत्वले जागरण अभियानमार्फत आएका सुझावलाई आत्मासाथ गरेर अगाडि बढेमात्र भविष्यमा काङ्ग्रेसको सङ्गठन बलियो हुने उल्लेख गरे। (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.