www.tandavnews.com
Fact ~ In search of truth

जनता आवास कार्यक्रमबाट गोरखामा २३७ घर बनाइने

गोरखा ।
जनता आवास कार्यक्रमअन्तर्गत जिल्लामा चालू आर्थिक वर्षमा २३७ घर बनाइने भएको छ । शहरी विकास तथा भवन डिभिजिन कार्यालयमार्फत यो वर्षका लागि गत वर्ष बाँकी रहेका ८३ सहित नयाँ १५४ घर बनाइने भएको हो ।

गत आवमा अति विपन्न र अति सीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा यो वर्ष जिल्लाभित्र रहेका कुसुण्डा र वादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत यस पटक चुमनुव्री गाउँपालिकामा रहेका दलित समुदाय, गोरखा नगरपालिकाभित्र रहेका वादी समुदाय, अजिरकोट र सिरानचोक गाउँपालिकाभित्र रहेका भुजेल समुदायबाट पनि विपन्नताका आधारमा छनोट गरी घर बनाइने निर्णय भएको उनले बताए । त्यस्तै पालुङटार नगरपालिका र गोरखा नगरपालिकाभित्र रहेका कुमाल समुदाय, थुमी र ताकुकोटका वराम समुदायमा रहेका विपन्नता भएका परिवारको छनोट गरी घर बनाउने निर्णय गरिएको प्रमुख थापाको भनाइ छ ।

कार्यालय प्रमुख थापाले जनता आवास कार्यक्रममार्फत जिल्लाको ध्याल्चोक, मकैसिङ, ताङिलचोक, भुम्लिचोक, ताक्लुङका चेपाङ र माझी समुदायका लागिसमेत घर निर्माणका लागि छनोटको काम शुरु गरिएको जानकारी दिए । उनले छनोटमा परेका घरमध्ये पनि प्राथमिकताका आधारमा घर निर्माणका लागि काम शुरु हुने जानकारी दिए । कार्यक्रमका लागि प्रदेश सरकारले चालू आवका लागि कूल आठ करोड ७९ लाख ३४ हजार बजेट पठाएको उनले बताए ।

प्राप्त बजेटबाट गत वर्षको केही रकम तिर्न बाँकी रहेकाले यो वर्ष प्राप्त भएको बजेटले सबै घर निर्माण गर्न नपुग्ने प्रमुख थापाको भनाइ छ । छनोटमा परेकामध्ये एउटा घर निर्माणका लागि तीन लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराइने कार्यालयले जनाएको छ । उक्त रकम चार किस्ता गरेर प्रदान गरिने बताइएको छ । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.