www.tandavnews.com
Fact ~ In search of truth

‘जातिगत पेशाले सानो भइदैन’

उमा विक
पोखरा, ताण्डव न्यूज । 

पेशागत रुपमा सारा संसारकै महान शिल्प विज्ञान विद्याता उध्दगाता सृष्टी गर्ने विश्वकर्मा समुदायलाई मानिन्छ।

परम्परागत रुपमा फलामको हरेक संरचना निर्माणका काम गर्दै आएका विश्वकर्मा जातिले जीवननिर्वाह तथा जिविकोपार्जनको लागि आजभोलि मुख्य पेशा वैदेशिक रोजगारलाई बनाएको पाइन्छ । साथै आफ्नो जातिगत पेशालाई छोडि अन्य पेशा अपनाउन थालेका छन् । जसले गर्दा पछिल्लो समय जातिगत पेशा हराउन थालेका छन् ।

Batas

पोखरा महानगरपालिका –३ नदीपुर,नारायणस्थान मन्दिर नजिक टिनका कोठामा बिहानैदेखि भाडा ठोकेको टङटङ–टुङटुङ आवाज सुनिन्छ । त्यही टिनका कोठामा बसेर भाँडा बनाउँछन् अपर मुस्ताङका राजकुमार वि.क (अर्जुन) ।

मुस्ताङ छँदा पढ्ने वातावरण भएन। स्कुल थियो तर पढाउनलाई मास्टर टिकेर बस्दैनथे त्यसैले उनले पढ्न पाएनन्। गाउँमै घाँसदाउरा गरेर हुर्के । मुस्ताङमा जिविका चल्ने काम थिएन । अर्काको बाख्रा चराउने, खच्चरमा सामान ओसारपसार गर्ने यस्तै काम गरि दिन बित्थ्यो उनको ।

यही काम गरि गुजारा नचल्ने भएपछि उनी कामका लागि २०४९ सालमा पोखरा झरे । ‘पढाइलेखाइ थिएन काम पनि भनेजस्तो कहाँ पाउनु । मिस्त्री बन्छु भन्ने सोंच थियो । पोखरा आएपछि २÷३ वर्ष घर बनाउने लेबर काममा हिँडे,’ अर्जुन भन्छन् ।

काम गर्दा उनलाई चोटपटक धेरै लाग्यो । काममा बल धेरै चाहिन्थ्यो ।बल खर्च गरेअनुसारको पैसा पाउन मुश्किल थियो। ठेकदारले पैसा पनि समयमा दिदैनथ्यो । उनलाई यो काममाचित्त बुझेन ।

वैदेशिक रोजगार बाहेक अन्य काम गर्ने अप्सन केही थिएन उनीसँग। उनलाईविदेश जान मन कहिल्यै थिएन तर परिवार पाल्न पर्ने नै थियो ।

विदेश गए तर उनलाई स्वास्थ्यले साथ दिएन । ७/८ महिना बिरामी परे विदेशी भुमीमा । ११ महिना जसोतसो विदेश बसेपछि अन्तत् उनी नेपाल फर्के । विदेशी भुमिमा गएर काम गर्न या अरुको काम गर्नुभन्दा आफ्नै जातिगत पेशा गर्छु भन्ने सोंच उनीमा आयो ।

अर्जुन भन्छन्, ‘भाडा बनाउने काम एक त जातिगत पेशाको रुपमा चिनिन्छ। यो मेरो पुर्खौली पेशा पनि हो । मलाई मेरै पेशा अगाडि बढाउँछु भन्ने लाग्यो र भाडा बनाउने काम सुरु गरे ।’

पोखरा आएपछि खाली जग्गामा कटेरो बनाएर उनले आरन राखेर काम सुरु गरेका थिए। उनले भाडा बनाउने कामलाई निरन्तरता दिएको अहिले झण्डै २० वर्ष भयो।अर्जुनले यही काम गरेर गुजारा चलाइरहेका छन् । घरपरिवार पालिरहेका छन् ।

‘भाडा बनाउँदा, घन ठोक्कदा यो तल्लो जातको काम भनेर समाजले भन्छ । यही कारण पनि हाम्रो समुदायले जातिय पेशा छोड्दै गएका छन्’ अर्जुन भन्छन्,‘मान्छे कहिले पनि कुनै जातिगत कामले तल हुँदैन, सोचले हो तल पर्ने।’

अर्जुनको जिजुबाजे पालादेखिको पेशा हो भाडा बनाउने । तर अर्जुनले बाउबाजेले गरेकै भएर यो पेशा गर्नुभन्दा पनि जातिगत पेशा लोप नहोस भन्ने मनशायले यो पेशा निरन्तरता दिएको बताउँछन् ।

अहिले जमाना प्रतिष्पर्धाको छ । पछिल्लो समय मेसिनले भाडा बनाईदिँदा आफ्नो जातिगत पेशा लोप हँुदै गएको अर्जुन गुनासो गर्छन् । भन्छन्, ‘हामीले मिहेनत गरेर हातले भाडा बनाउँछौ । अहिले विभिन्न मेसिनहरु आयो । त्यसले छिटो र सजिलो तरिकाले एकैपटक धेरै भाडा बनाइदिन्छ ।यसले गर्दा जातिगत पेशा हराउँदै जान थालेको छ ।’

अर्जुन र उनका दाईले दिनमा मुश्किलले ७÷८ वटा भाडा बनाउँछन् । उनीहरुले मुस्ताङी भाडा बनाउँछन् । मुस्ताङी भाडा नाल्चाको डिमान्ड बढ्न थाले पछि उनीहरुले मेसिनमा बनाउन दिँदै आएका छन् ।

तर मेसिनका मालिकले नै भाडा बेच्दा अर्जुन मारमा परेका छन् । ‘हातैले बनाउँदा समय लाग्ने भएपछि हामीले मेसिनमा बनाउन दियौ । पछि उसैले मेसिनमा बनाउँदै बेच्न थाल्यो । हामी त मारमा प¥यौ,’ अर्जुन दुख पोख्छन्, ‘कुनै पनि पेशामा व्यापार र कमाई हुन्जेल त हो नि गर्ने, कमाई हुन छोडेपछि त कसरी चल्ने । तर सकेसम्म मेरो जातिगत यो पेशा निरन्तरता दिने सोचमा छु ।’

उनका अनुसार पहिला पहिलो यो पेशामा राम्रो कमाई थियो । तर पछिल्लो समय कमाई खासै छैन् । तर पनि गुजारा राम्रै चलिरहेछ । उनले महिनामा यहि पेशाबाट ३०/४० हजार कमाइ गरिरहेका छन् ।आफ्ना सन्तान पढेलेखेका भएपनि जातिगत पेशालाई निरन्तरता दिउन् भन्ने अर्जुनको इच्छा छ ।

उनका बाउबाजेले घनै ठोकेर फलामका भाडा बनाउँथे । उनले फलाम छोडेर तामा,पित्तल र सिलाभरको भाडा बनाउने काम उनले गरेका छन् ।

अर्जुन भन्छन्, ‘मेरो छोराछोरीले मैले नै जसरी हातैले भाडा नबनाए पनि प्रविधियुक्त मेसिनको प्रयोग गरेर भएपनि हाम्रो पेशालाई निरन्तरता दिएहाम्रो पेशा लोप हुने थिएन ।’

जातिगत पेशालाई पछिल्लो पुस्ताले अझ अगाडि लैजानुपर्ने अर्जुनको धारणा छ । ‘जातिगत पेशालाई हामीले लोप हुन दिनुहुँदैन । हाम्रो पेशा लोप भए हामी हराउँछौं । हामी पछाडी पर्छौ, ’ अर्जुन भन्छन्, ‘हाम्रो जातिगत पेशा लोप नहोस भन्ने म चाहान्छु ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.