www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला अस्पतालको फार्मेसी बन्द भएपछि…

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतबाट प्रवाह गरिने सेवा प्रदान गर्नको लागि समस्या भएको छ । अस्पतालका बिभिन्न फाँटमा काम गर्नेदेखि अस्पतालको फार्मेसी सञ्चालन गर्नका लागि समेत जनशक्तिको अभाव भएपछि बिरामीहरुलाई सेवा दिन समस्या परिरहेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

अस्पतालको विकास गर्ने क्रममा शैयाको क्षमता बढाउँदै लगिएको भएपनि सोही अनुसारको जनशक्तिको व्यवस्थापन गर्न नसकिएका कारण सेवा प्रवाहमा समस्या भैरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन् । ‘कुनै एउटा फाँटमा बसेर काम गर्नको लागि एकै खालको क्षमता भएका तीन देखि चार जनासम्म दक्ष जनशक्ति आवश्यक पर्ने भएपनि हामीकहाँ त्यती ठूलो म्यानपावर नरहेको कारण काम गर्न असजिलो भएको छ,’ उनले भने, ‘आवश्यक म्यान पावरको अभावमा बाध्यताले हरेक सेवा एक–एक जनाको भरमा चलाइरहनुपरेको छ ।’

Batas

पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य अपरेसन सेवा सुरु भएको २ वर्ष भइसकेको छ । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा सुरु भएको अस्पताल विकास समितिको दाबी छ । पछिल्लो समय थाइराइडको परीक्षण सेवा पनि उपलब्ध गराइएको छ भने रगतको जाँच र आकस्मिक सेवालाईलाई चौबीसै घण्टा दिने गरी विस्तार गरिएको छ ।

१५ बेड क्षमताको अस्पतालमा यस्ता सेवा सुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो । तर, यी सेवा अस्पताल आउने बिरामीका लागि सहज छैन । २०४६ मा १५ बेड क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालमा हाल ३५ बेडसम्मको सुविधा दिइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन् ।

अस्पतालका अनुसार इमर्जेन्सी सेवा पनि सहज छैन । इमर्जेन्सीमा मात्रै कम्तीमा १० जना प्यारामेडिक्स कर्मचारी आवश्यक रहेको भएपनि अहिले एक जनाले मात्रै काम चलाउनुपरेको अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोषी थपलियाले बताइन् । उनका अनुसार आवश्यकता अनुसार कर्मचारीहरुको माग गरिएको भएपनि जनशक्ति नहुँदा बहिरंग, ल्याब, एक्सरे लगायतसबैतिर समस्या भैरहेको छ । ल्याब, एक्सरे, एम्बुलेन्स, इमर्जेन्सीलगायतका सबैतिर समस्या देखिएको अस्पतालले जनाएको छ । थपलियाका अनुसार बिरामीले चौबीसै घण्टा सहज सेवा पाउनेगरी सञ्चालन गर्न एउटा सेवाका लागि कम्तीमा ४ कर्मचारी आवश्यक पर्छ ।

अप्ररेसन सेवा सञ्चालन गर्न विशेषज्ञ डाक्टरका साथमा एक जना एनेस्थेसिया (बेहोस बनाउने) आवश्यक हुन्छ । तर, एनेस्थेसियाको अभावमा करिब एक वर्षसम्म एक्सरे सेवा अवरुद्ध भएको थियो । एनेस्थेसिया कर्मचारीको नियुक्ति भएको केही समयमै अपरेसनका दक्ष डाक्टरको सरुवा भएपछि केही समय अपरेसन रोकिएको थियो । अस्पतालमै सञ्चालित सस्तो औषधि वितरण हुँदै आएको फार्मेसी केही महिनादेखि बन्द छ । बिरामीलाई बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पताल फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको विवादले बन्द भएको हो । अस्पतालले भने त्यसलाई प्राविधिक समस्या बताएको छ ।

इमर्जेन्सी सिकारु र प्रयोगात्मक अभ्यास गर्ने विद्यार्थीका भरमा चलेको छ । अस्पताल आउने बिरामी सिकारुका कारण रोग निको हुनुको सट्टा झनै बिरामी भएर फर्किनुपर्ने अवस्था रहेको सेवाग्राहीले गुनासो गरेका छन । स्थानीयले अस्पताल रिफर सेन्टर मात्रै भएको आरोप लगाए । अस्पतालबाट प्रदान हुने सबैजसो सेवा नियमित गर्न आवश्यक दक्ष जनशक्तिको माग गरिएको भए पनि अहिले अस्पताल प्रदेश मातहत आएका कारण कर्मचारी व्यवस्थापनमा समस्या परेको पहाडीले बताए । अस्पताल ५० बेडमा स्तरवृद्धि गर्ने गरी करिब २५ करोडको लागतमा भवन निर्माण भइरहेको छ ।

अस्पताल केही समस्याहरु जस्ताको तस्तै रहेको भएपनि अस्पताल विकास समितिले भने बिगतमा भन्दा वर्तमानमा अस्पतालको सेवा सुबिधा राम्रो बन्दै गएको दावी गरेको छ । अस्पतालमा एम.डि.जी.पी. डाक्टर ल्याएर अपरेशन सेवा सुरु गरिएको र जसका कारण अव जटिल प्रकृतिका सुत्केरी गराउन पोखरा जानु नपर्ने व्यवस्थापन समितिका अध्यक्ष पहाडी बताउँछन् । कुश्मामा नै यो सेवा उपलब्ध हुनु महत्वपूर्ण रहेको र यसले जिल्लाबासीहरुलाई निकै सजिलो बनाएको उनले बताए ।

‘प्रसुतिका लागि पोखरा जानु पर्ने बाध्यता अन्त्य मात्र होईन जिल्लामा नै पहिलो पटक थाइराइड परीक्षण सेवा पनि शुरु गरिएको छ, विगतमा कम प्रभावकारी रहेको ५ वर्ष मुनिका बच्चाहरुको निशुल्क पोषण कार्यक्रममा यो वर्ष जेष्ठ १५ गतेसम्ममा ५९ जना बच्चाले सेवा लिर्ई सके जवकी गत वर्ष १२ महिनाभरिमा केवल १९ जना बच्चाले सेवा लिएका थिए,’ उनले भने । अस्पतालको सुधार गर्ने क्रममा न्यून गुणस्तरको एक्सरे मेशिनलाई प्रतिस्थापन गरि नयाँ र आधुनिक एक्सरे मेशिनबाट एक्सरेका कामहरु भैरहेको निमित्त मेडीकल सुपरीडेण्डेण्ट डा. सन्तोषी थपलियाले बताइन् ।

उनका अनुसार अस्पतालको आय व्ययलाई शत प्रतिशत पारदर्शि गराउनका लागि सेण्ट्रल विलिङ पद्धति (सफटवयर) लागु गरिएको छ भने कर्मचारीको कामको अनुगमन तथा अस्पताल भित्र हुन सक्ने अन्य घटनाहरुको विवरण लिनका लागि सीसी क्यामेरा तथा विद्युतिय हाजिरी प्रणाली लागु गरिएको छ । जेष्ठ नागरिकको निशुल्क उपचारलाई थप प्रभावकारी बनाइएको छ भने ओपिडि सेवालाई प्रभावकारी बनाउन समितिकै पहलमा ३ जना डाक्टर थप गरिएको छ ।

डा. थपलियाले ईमरजेन्सीमा आउने विरामीको मुटुको धडकन मापन गर्ने कार्डिओ मोनिटर मेशिन जडान गरिएका कारण पनि अस्पतालमा आएका बिरामीहरुलाई सजिलो भएको बताइन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले नेपाल सरकारको नियम अनुसार जिल्ला अस्पतालको तहमा अनिवार्य रुपमा सञ्चालन गर्नु नपर्ने सेवाहरु फार्मेसी तथा अपरेशन सेवा सञ्चालनमा ल्याएको बताए ।

उनले भने, ‘जिल्ला अस्पतालले फार्मेसी, दाँत उपचार तथा अपरेशन सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहन्न तर हामीले जिल्लावासीहरुलाई बाहिर जानु नपरोस भनेर यी सेवा सञ्चालनमा ल्याएका छौं ।’ स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाको तर्फबाट हालै गरिएको अध्ययनबाट पर्वत जिल्ला अस्पतालको सेवाको गुणस्तरमा व्यापक सुधार आएको पनि पहाडीले बताए ।

अस्पताल श्रोतले जानकारी दिए अनुसार आगमी वर्ष पर्वत अस्पतालमा नवजात शिशुहरुको सघन उपचार सेवा (ल्क्ष्ऋग्) , निशुल्क डायलासिस सेवा तथा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने योजना बनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.