www.tandavnews.com
Fact ~ In search of truth

जुम्लामा ५० प्रतिशत बालविवाह

 

 

खलङ्गा ।

जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान बिपरित अझैसम्म परम्परा बमोजिम नै बालविवाह गर्ने गरेको सिञ्जा क्षेत्रका बासिन्दा बताउँछन् ।

Batas

कानूनी सुधारका लागि सरकारले नीतिगत तथा कानूनी प्रयास गरे पनि एकातर्फ परिवारले सानै उमेरमा विवाह गरिदिने र अर्कोतर्फ उमेर नपुग्दै विद्यालयमा अध्यनरत केही बालबालिकाले आफै पनि विवाह गर्ने परिपाटीले गर्दा बालविवाहमा उल्लेख्य सुधार आउन नसकेको हाटसिञ्जा गाउँका हिमाल रोकायाले बताए । पारिवारिक समन्वयको अभाव, कानूनी अनभिज्ञता र घरायसी कामका लागि पनि उमेर नपुग्दै विवाह हुँदै आएको उनको भनाइ थियो ।

गरीबीका कारण आफ्नो जिम्मेवारीबाट मुक्त हुन छोराछोरीको सानै उमेरमा विवाह गरिदिने प्रचलन रहेको हाटसिञ्जा गाउँकै लछि सुनारले बताए । आफ्ना अग्रजको देखासिकीका कारण पनि बालविवाह हुने गरेको भन्दै उनले गाउँमा प्रत्येक वर्ष हुने विवाहमध्ये करीब ५० प्रतिशत बालविवाह नै हुने गरेको बताए ।

हाटसिञ्जा स्वास्थ्य चौकीका अहेब लालबहादुर बुढाका अनुसार अपरिपक्व अवस्थामा गरिएको विवाहले महिलाको स्वास्थ्यमा असर पर्ने बताए । बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुुने तथा शारीरिक अपरिपक्वताका कारण आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने उनको भनाइ थियो ।

सानो उमेरमा नै आमा बन्नुपर्दा बच्चा पनि अस्वस्थ र पूर्णरूपले शारीरिक विकास हुन कठिन हुने बताए। बालविवाह रोक्न विद्यमान कानुनी प्रावधानलाई स्थानीय भाषामा प्रचारप्रसार गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा अहेब लालबहादुर बुढाले जोड दिए । कनकासुन्दरी गाउँपालिका– ४ का वडाध्यक्ष रविलाल आचार्यले बालविवाह कानूनीरुपमा अवैध भए पनि न्यूनीकरणमा चुनौती बनेको बताए ।

बालविवाह न्यूनीकरणका लागि सचेतना र शिक्षा दिन राज्य र गैर राज्यपक्षबाट ठूलोमात्रामा लगानी भए पनि त्यसको प्रभावकारिता कमै देखिएको उनको भनाइ थियो । आगामी दिन वडापालिकाले बालविवाह गर्ने व्यक्ति तथा गराउने परिवारलाई राज्यको सेवा सुविधाबाट बञ्चित गर्न वडाको बैठकबाट निर्णय गराइने वडाध्यक्ष आचार्यले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.