www.tandavnews.com
Fact ~ In search of truth

जोमसोम विमानस्थल स्तरोन्नतिको ६५ प्रतिशत काम पुरा

मस्ताङ ।

मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।

धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थल समेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो ।

Batas

विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह मिलाउने (ग्रेड सुधार) को काम सकिएको छ । पर्खाल, नाली, घेराबार र तटबन्धको कामले पनि तीव्रता पाएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आउँदो साताभित्र धावनमार्ग सुधारको काम सकिनेछ । असार ८ गतेदेखि विमानस्थलमा नियमित उडान हुने कार्यालय प्रमुख भानु कोइरालाले बताए ।

धावनमार्ग कालोपत्र र ‘ग्रेड’ सुधारले जहाज उडान तथा अवतरणमा सहजता थपिने उनको भनाइ छ । धावनमार्ग जीर्ण हुँदा र ‘ग्रेड’ नमिल्दा दुर्घटनाको जोखिम थियो । विमानस्थलभित्रको भिरालो जमीनलाई सम्याएर धावनमार्गकै तहमा ल्याइएको निर्माण कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए ।

“धावनमार्गको काम एक साताभित्रै सकिन्छ”, उनले भने, “असार मसान्तसम्ममा बाँकी सबै काम सक्छौँ ।” रातदिन नभनी मजदूर र व्यवस्थापन पक्ष काममा खटिएको उनको भनाइ थियो ।नागरिक उड्डयन प्राधिकरणले गत असोजमा एपेक्स निर्माण कम्पनीलाई विमानस्थल सुधारको जिम्मा दिएको थियो । नौ करोड रुपैयाँमा सम्झौता भएको योजनाको काम फागुन १५ गतेदेखि मात्र शुरु भएको थियो ।

चिसो र हिमपातका कारण ढिलो गरी काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ । जोमसोममा हावाहुरी चल्ने र मौसिम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको कार्यालयले जनाएको छ ।

पोखरा–जोमसोम हवाइमार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटक र तीर्थयात्रीको चापले वैशाख–जेठ महीना विमानस्थल बढी व्यस्त हुने गर्छ । पोखरादेखि १८ मिनेटको उडानमा जोमसोम पुगिन्छ । जहाजबाट मुस्ताङ जाने पर्यटक यतिबेला म्याग्दीको बेनी हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.