www.tandavnews.com
Fact ~ In search of truth

ज्यान जोखीममा पार्दै ‘कन्ट्रासेप्टीव पिल्स र सर्जिकल एबोर्सन’ मोह !

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

युवा पुस्ताले यौन सम्बन्धका बेलामा गर्भ निरोधक सामग्रीको प्रयोग नगरी असुरक्षित यौन सम्बन्ध राख्दा गर्भपतन सेवा लिनेहरू बढ्दै जान थालेका छन् ।

जिल्ला अस्पताल पर्वतको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५/०७६ मा कुल १ सय ६४ जनाले जिल्ला अस्पतालमा मात्र गर्भपतन गराएका छन् ।

Batas

यीमध्ये १० जना २० वर्षभन्दा कम उमेर रहेका युवतीहरू छन् भने बाँकी रहेका १ सय ५४ जना २० वर्ष भन्दा माथिका छन् ।

२० वर्षभन्दा तलका ७ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् भने ३ जनाको सर्जरीमार्पmत गर्भपतन गराएका छन् ।

यस्तै, २० वर्षभन्दा माथिका १ सय २४ जना महिलाहरूले औषधिको सेवन गरेर गर्भपतन गराएका छन् भने ३० जनाको सर्जरी गरेर गर्भपतन गराइएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषी थपलियाले बताइन् ।

वडामा रहेको स्वास्थ्य चौकीहरूमा स्वास्थ्य कार्यालयको परिवार नियोजन कार्यक्रम अन्तर्गत गर्भ निरोधक साधनहरू कण्डम, पिल्स, आई.यु.सी.डी र ईम्प्लान्ट उपलब्ध गराइएको भए पनि त्यसको प्रयोगमा अझै पनि हिचकिचाउने गरेको देखिएको छ ।

‘गाउँमा रहेका स्वास्थ्य संस्थाहरू सबैमा इम्प्लान्ट र आई.यु.सी.डी.सहजै पाउने अवस्था नरहेको भए पनि खाने चक्की पिल्स र कण्डम त जति बेला पनि सजिलै पाउन सकिन्छ ।’ उनले भनिन्, ‘पढेर शिक्षित भएकाहरूले पनि अस्थायी साधन प्रयोग नगरी गर्भपतन गराएका छन् । यो त स्वास्थ्यका लागि ठुलो जोखिम हो ।’

२ पटकसम्मको गर्भपतनले स्वास्थ्यमा क्षति नै नपु¥याईहालेपनि त्यसभन्दा बढी पटक पनि गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर समस्या आउनुका साथै बाँझोपन, गर्भ आपैm खेर जाने, प्रजनन अंगहरूमा संक्रमण हुने, मानसिक तनाव लगायतका समस्या हुने डा. थपलियाको भनाई छ ।

अहिलेका युवा युवतीमा गर्भपतनको सुविधा उपलब्ध छ भन्ने सोच रहेकाले पूर्व सावधानी नअपनाउने गरेको बताउँदै उनले सुविधा छ भन्दैमा पटक पटक गर्भपतन गराउँदै जीवनका लागि नै अभिषाप बन्न सक्ने बताइन् ।

आकस्मिक रूपमा गर्भ निरोधक लागि प्रयोग गरिने ‘कन्ट्रयासेप्टीभ पिल्स’ हरू सजिलै पाउने भएकोले पनि अस्थायी साधनहरू प्रयोग नगरी यौन सम्बन्ध राख्ने गरेको देखिएको छ ।

औषधि पसलहरूमा यस्ता गर्भ निरोधक पिल्सहरु सजिलै किन्न पाइने र त्यो खानाले यौन सम्बन्ध राखेको ७२ घण्टासम्मको अवधिमा गर्भ नरहने कारण धेरै युवा युवतीहरूले ‘कन्ट्रयासेप्टीभ पिल्स’ किन्न आउने गरेको औषधि व्यवसायीहरू बताउँछन् ।

चिकित्सहरुका अनुसार कतिपय ठाउँमा सहजै तरिकाले गर्भ निरोधक साधनहरू नपाइनु, गर्भपतनका असर र यौन प्रसारित रोगहरूको बारेमा थाहा नहुनु, बुझेर पनि अस्थायी साधन प्रयोग गर्न हिचकिचाउनु लगायतका कारणले गर्भपतन गर्नुपर्ने बाध्यता छ ।
जिल्ला अस्पतालमा मात्र गर्भपतन गराउनेको सङ्ख्या १ सय ६४ देखिनुले जिल्लामा गर्भपतन गराउनेहरूको सङ्ख्या ठुलो रहेको सहजै अनुमान गर्न सकिन्छ ।

सदरमुकाम कुस्माबाट पोखरा बसमा डेढ घण्टामा पुग्न सकिने भएकोले सुरक्षा र गोपनीयताको खोजीमा पोखरा पुगेर गर्भपतन गराउनेहरूको सङ्ख्या धेरै छ । यस्तै, बागलुङ र स्याङजा पुगेर पनि पर्वतवासीहरूले गर्भपतन सेवा लिने गरेका छन् । कतिपय किशोरी तथा महिलाहरूले सरकारले गर्भपतनका लागि तोकेको आधिकारिक ठाउँ बाहेक अन्य मेडिकलहरूमा पुगेर पनि गर्भपतन गराउने गरेका छन् ।

परिवार नियोजनको  साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रूपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ । राज्यले  बढीमा १२ हप्ता सम्मको  गर्भ गर्भवती महिलाको  इच्छानुसार पतन गराउनुलाई आकस्मिक सेवाको  रूपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रूपमा विकास हुँदै गरेको देखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.