www.tandavnews.com
Fact ~ In search of truth

ज्याला विभेद : ज्याला माग्दा काम खोसिने डर

राजु पौडेल
कुश्मा ।

लालु सुनार (मोदी गाउँपालिका–६ तिलाहार) र गङ्गा नेपाली (कुश्मा नगरपालिका ९, कटुवाचौपारी) ले सदरमुकाम कुश्मा आसपासमा निर्माण मजदूरका रुपमा काम गर्न थालेको करीब चार वर्ष भयो ।

घर ढलान गर्ने क्रममा बालुवा बोक्ने, उठाउने, ढलान लगायत सबै काम दुई जनाले आलोपालो गर्ने गर्छन । एउटै काम गर्ने दुई मध्ये सुनारले दैनिक ५ सय रुपैयाँ र नेपालीले ३ सय ५० रुपैँयाँ ज्याला पाउछन् ।

Batas

उनीहरु मात्र होइन निर्माण मजदूरकै रुपमा काम गर्ने शान्ति परियारले पाउने दैनिक ज्याला पनि उस्तै छ । सँगसँगै काम गर्ने मनोज सार्कीले ५ सय पाउँदा आफूले भने ३ सय ५० मै चित्त बुझाउनु परेको उनको गुनासो थियो ।

“यस्तो किन गरियो भन्दा कामै पाइँदैन । बालबच्चा पाल्नु पर्यो । भोकभोकै बस्न भन्दा ठेकेदारले जति दिन्छन् उति नै लिएर काम गर्ने गरेकी छु” शान्तिलेले भनिन् ।
नेपालमा समानताका लागि धेरै आन्दोलन भए र विभेद नहुने भन्ने कुरा धेरै सुनेपनि कार्यान्वयनमा चासो नदिएको उनीहरुको भनाइ थियो ।कानूनले महिला–पुरुषका लागि समान कामको समान ज्याला तोके पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको यहाँका मजदूरको गुनासो छ ।

कसैले भेदभाव गरेमा सजायको भागीदार हुने कानुनी व्यवस्था भएपनि यहाँका घरेलु उद्योग, कृषि, निर्माणलगायत काममा महिला–पुरुषबीच ज्यालामा करीब आधा नै अन्तर हुने गरेको छ ।

विभिन्न औद्योगिक तथा निजी कामकाजमा पनि महिलालाई पुरुष कर्मचारीको तुलनामा बोझ बढी तर सुविधा भने कम दिने गरेको गुनासो बढेको छ ।

समान कामको समान ज्याला पाइन्छ भन्ने सुनेकी लुरी माझीले ठेकेदारसित यसबारे गुनासो गरिन् । ठेकेदारले पनि पुरुषसरह महिलाले काम गर्न नसक्ने हुँदा समान ज्याला पनि सकिँदैन भनेर झर्कने गरेको दुखेसो पोख्दै उनले भनिन्, “पुरुषसरहकै ज्याला माग्दा न काम नत माम भइन्छ कि भन्ने डर । परिवार पाल्न काम नगरिकन बस्न पनि भएन ।

खाली बस्नुभन्दा जति दिन्छन् उतिमै चित्त बुझाएकी छु ।” गुनासो गर्न जाँदा कामबाटै हात धुनुपर्ने डरले यस्ता कुरा लिएर कतै नगएको अन्य महिला कामदारले बताए ।

वर्षौैैंदेखि कृषि मजदूरका रुपमा काम गर्दै आएकी कुश्मा नगरपालिका–९ कटुवाचौपारीकी सेती नेपालीले पनि यो विभेद अहिलेसम्म भोग्दै आएकी छिन । श्रीमानसगैँ एकैखालको काममा जाँदा श्रीमानले पाउने र उनले पाउने ज्यालामा आधाको फरक हुन्छ ।

“म बोल्दा श्रीमानको समेत काम खोसिने डर छ ।” उनले भने “चलनै यस्तै छ ।” कात्तिक र मङ्सिरमा कृषि मजदूर बढी व्यस्त हुने समय हो । यही याममा काम गरेर करीब परिवारले छ महीनासम्म खान पुग्ने खर्चको जोहो गर्नुपर्छ ।

नेपाल ट्रेड युनियन महासङ्घका पूर्वअध्यक्ष रामबहादुर नेपालीले समान कामका लागि महिला–पुरुषबीच विभेद गर्न नहुने कानून भए पनि व्यवहारतः त्यो लागू हुन नसकेको स्वीकारे ।

“पटक–पटक सिडिओ कार्यालयमा बस्ने बैठकमा कुरा उठ्छ । विभेद गरे कारवाही हुन्छ पनि भनिन्छ”, उनले भने, “तर कारवाही हुँदैन । ठेकेदारले भित्रभित्रै निकै विभेद गरेका गुनासा आउँछन् । काम नपाउनुभन्दा थोरैमा पनि चित्त बुझाउन बाध्य हुनुपर्छ ।” रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.