www.tandavnews.com
Fact ~ In search of truth

झापाका मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

झापा ।

पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् ।

मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ । एकैखेपमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चार माध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ ।

जिल्ला वन कार्यालयबाट दुई वर्षअघि मात्र पर्यापर्यटनका लागि वन्यजन्तु पाल्ने इजाजत लिएको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीले जनावरको लालनपालन, उपचार र रुचिकर आहारका बारेमा उचित जानकारी नभएका कारण पालिएका वन्यजन्तु मर्ने गरेको जानकारी दिए ।

उनले आफ्नो सामुदायिक वनले सञ्चालन गरेको चिडियाघरमा पालिएका अजिङ्गर र निगाले बाघको बच्चासमेत मरेको बताए ।गाउँलेले भेट्टाएका वन्यजन्तु वन कार्यालयलाई बुझाउने र वन कार्यालयले संरक्षणका लागि सामुदायिक वनहरुलाई जिम्मा लगाउने गर्दै आएका छन् ।

घाइते अवस्थामा उद्धार गरिएका वन्यजन्तुसमेत सामुदायिक वनमै राख्ने गरिएको छ । झापा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बाँसबारी, थोप्लेविरान, आदर्श र जुकेखाडी सामुदायिक वनले पर्यापर्यटनका नाममा वन्यजन्तु पाल्दै आएको बताए।

त्यहाँका वनमा हरिण, हाडखोर, गिद्ध, बँदेल, खरायो, लाटकोसेरा, ढेडु बाँदर, बँदेल, भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पक्षी पालिएका छन् ।

उहाँका अनुसार उद्धार गरिएका र घाइते अवस्थामा फेला पारिएका वन्यजन्तुलाई कार्यालयमा संरक्षण गरेर राख्ने ठाउँ नभएका कारण सामुदायिक वनलाई नै बुझाउनुपर्ने बाध्यता रहेको छ ।

सामुदायिक वनहरुले पालेका वन्यजन्तु उचित संरक्षणको अभावमा मरेका घटना गुपचुप हुने गरेका छन् । झापामा विगत पाँच वर्षमा १५ भन्दा बढी अजिङ्गर नै सामुदायिक वनको मिनी चिडियाखानामा मरिसकेको अनुमान छ तर यसको आधिकारिक तथ्याङ्क कुनै निकायले राखेको पाइँदैन ।कालिका सामुदायिक वनले डेढ वर्षअघिदेखि वन्यजन्तु पाल्न शुरु गरेको हो ।

चारआली पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएर कर्मचारीलाई वन्यजन्तु स्याहारसम्बन्धी तालीम दिन थालिएको उक्त सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले बताए ।

महीनामा रु २३ हजार वन्यजन्तुको आहारमा खर्च हुँदै आएको र वनमा पालिएकामध्ये एउटा हरिण, दुई अजिङ्गर र केही बँदेल मरिसकेका उनको भनाइ थियो । जिल्लामा सबैभन्दा बढी वन्यजन्तु पाल्ने सामुदायिक वन कनकाइको जामुनखाडी हो ।

उक्त वनका अध्यक्ष ख्याम सिटौलाका अनुसार भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन प्रजातिका जीवजन्तु र चरा त्यहाँ पालिएका छन् ।प्रदेश नं १ को नमूना चिडियाघरको रुपमा इजाजत पाएको यस सामुदायिक वनमा समेत कुन बेला कति जनावर मरे भन्ने लेखाजोखा छैन । यहाँ हरिणको बथान नै पालिएको छ ।

डिभिजन वन कार्यालय झापासँग विसं २०६५ यता चितुवा, अजिङ्गर, चित्तल, डल्फिन, हाडखोरलगायत १० र जङ्गली हात्ती १० गरी २० वन्यजन्तु मरेको तथ्याङ्क छ । सामुदायिक वनको चिडियाघरमा कति वन्यजन्तु मरिसके भन्ने तथ्याङ्क राख्ने गरेको पाइएन ।

सामुदायिक वनहरुले सञ्चालन गर्दै आएको मिनी चिडियाघरले आन्तरिक पर्यटन र वन्यजन्तुको संरक्षणमा योगदान पुर्याएको यथार्थलाई नकार्न नसकिए पनि आम्दानी दिने चिडियाघरमा पालिएका निरीह वन्यजन्तुको सुरक्षा, स्याहार र उपचारमा पर्याप्त ध्यान पुग्न नसकेको सरोकारवालाहरूले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.