www.tandavnews.com
Fact ~ In search of truth

झापामा तीन वर्षमा लागुऔषधका ५५४ कारोवारी पक्राउ

भद्रपुर ।

विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा १६५, आर्थिक वर्ष २०७४/७५ मा १८९ र आर्थिक वर्ष २०७५/७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए । तीन वर्षमा लागुऔषधसम्बन्धी ३५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आर्थिक वर्ष २०७५/७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिए।

सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउछन् ।

प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियानअन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ ।

अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ । “विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ”, प्रहरी उपरीक्षक मैनालीले भने, “यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.