www.tandavnews.com
Fact ~ In search of truth

डा महत र म्यान्मा अन्तर्राष्ट्रिय सहयोग मन्त्री बीच भेट

काठमाडौं।

पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र म्यान्माका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तिनबीच आज म्यानमारको यांगुनमा भेटवार्ता भएको छ ।

उनीहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो ।

नेपाल र म्यान्माबीच सांस्कृतिक, धार्मिकलगायतका धेरै क्षेत्रमा समानता रहेको विषयमा उनीहरुबीच कुराकानी भएको डा .महतले बताए ।

म्यान्मामा ठूलो सङ्ख्यामा नेपाली भाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको आफूले पाएको जानकारी डा महतले दिए ।

उनीहरुबीच द्विपक्षीय सहयोगको आदानप्रदानका साथै आगामी दिनमा सहयोगका धेरै क्षेत्रमा सहकार्य हुनसक्ने बारेमा पनि कुराकानी भएको थियो ।

सो भेटवार्तापछि यांगुनमा आयोजित गैरआवासीय नेपाली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकको उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।आजदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एसिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ ।

उक्त बैठकमा एसिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिहरुको सहभागिता छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.