www.tandavnews.com
Fact ~ In search of truth

डेमोक्रेटीक कांग्रेसको सडकमा डिक्टेटरसिप !

माधब भुसाल
पाेखरा, ताण्डव न्यूज ।

कांग्रेसले आफूलाई डेमोक्रेटिक पार्टी भएको दाबी गरिरहँदा पोखरामा आज मंगलबार डिक्टेटरसिप अर्थात अधिनायकवाद स्टायलमा आन्दोलन गर्यो ।

कास्की कांग्रेसका कार्यकर्ता, शुभचिन्तक बिहान ११ बजेदेखि पूर्व निर्धारित विरोध प्रदर्शन कार्यक्रमका लागि पृथ्वीचोक, सभागृहमा भिड बढाउन थाले । साढे ११ बज्दै गर्दा बाक्लो भिड र्यालीका लागि तयार भयो र अगाडी कालो ब्यानर समातेर पाइला अघि बढाउन थाल्यो ।

Batas

र्यालीमा सहभागी कार्यकर्ताहरु वर्तमान सरकारलाई गाली गर्नमै हतार देखिन्थे । उनीहरु निर्वाध रुपमा लोकतन्त्रको भरपुर प्रयोग गर्दै चर्को नाराबाजी सहित न्यूरोड पुग्दै थिए ।

ट्राफिक प्रहरीहरुलाई सवारी व्यवस्थापन गर्न भ्याई नभ्याई थियो । पोखरामा दैनिक डेढ लाख बढी सवारी गुड्छन् । न्यूरोड पोखराको मुख्य सडक हो । मुख्य सडक नै ओगटेर र्याली निकालिदिएपछि सवारी चालक र विविध कामका लागि निस्केका व्यक्तिहरुलाई तनाव नहुने कुरै भएन ।

मुख्य सडक बाहेकका भित्री सडकहरुले सवारीको चाप धेरै थेग्न सक्दैन । यात्रु, सवारी चालक लगायत अन्य व्यक्तिहरु गर्मीमा पसिना पुछ्दै त्यहीँ अडिनु बाहेक अन्य विकल्प हुँदैन यस्तो बेला ।

गन्तब्यमा पुग्न नपाएकाहरु, सवारी गुडाउन नपाएकाहरु र विविध काममा निस्किएका तर र्यालीका कारणले निस्कन नपाएकाहरुको लोकतन्त्र, प्रजातन्त्रको धज्जी उडाउँदै कांग्रेसका कार्यकर्ता चिच्याइरहेका थिए ‘अधिनायकवाद मुर्दावाद’ ।

र्याली बीपी चोकमा पुग्यो । प्रजातन्त्र चिच्याइरहँदा कांग्रेस कै लागि प्रहरीले सिद्धार्थ चोक र महेन्द्रपुल जाने बाटो ठप्प पार्यो । त्यतिबेला पनि माइकमै चर्को नारा बजिरहेको थियो, अधिनायकवाद मुर्दावाद ।

वर्तमान सरकारले अधिनायकवाद लाद्यो भन्ने आरोप सहित कास्की कांग्रेसले आज पोखरामा विरोध प्रदर्शन गरेको थियो । अधिनायकवादको विरोध गरिरहँदा स्वयं आन्दोलनकारीहरुले नै सर्वसाधारणमाथि अधिनायकवाद लादिरहेका थिए ।

यो अवस्था पोखरेलीका लागि नयाँ भने होइन ।

२०७३ चैत १९ गते पोखराका पत्रकार केशवशरण लामिछानेले ‘सडक छेकेर एमाले सभा, दिनभर पोखराको यातायात अवरुद्ध’ शिर्षकमा अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् । सडक छेकेर कार्यक्रम गर्दा सर्वसाधारण, व्यापारी, सवारी चालक, मजदुर लगायतले के कस्तो समस्या भोग्नुपर्यो ? केशव शरणले समाचारमा उल्लेख गरेका छन् ।

अघिल्लो दिन चर्का भाषण गर्ने नेताहरुले आफ्नो फोटो र भनाइकालागि पत्रिका पल्टाइरहँदा सर्वसाधरणको समस्या पढ्नु पर्दा नाक खुम्चिएको हुनुपर्छ ।

सोही वर्ष चैत १७ गते तत्कालिन वाम गठबन्धनले पनि सडक छेकेर कार्यक्रमको आयोजना गरेको थियो भने मंसीर ३० गते राप्रपाले पनि सडक छेकेर सभाको आयोजना गरेका थियो ।

यसरी राजनीतिक दलहरुले पटक पटक अराजनैतीक शैलीमा सडक छेकेर कार्यक्रम गरिरहेका छन् ।

आजको सडक छेकाई पनि अराजनीतिक हो भन्दा मैले गलत बोले जस्तो लाग्दैन ।

कांग्रेसको जित, सबैको हित ।
किसानको पार्टी, श्रमिकको साथी नेपाली कांग्रेस जनताको पार्टी ।

गएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको घोषणा पत्रको पेज नं ८३ मा यो नारा लेखिएको छ ।

पहिलो पार्टीको रुपमा जित हाँसिल गर्न त सकेन कांग्रेसले । तर, दोस्रो पार्टीका लागि पनि जनताको मन जितेरै भोट प्राप्त गरेको हो । यस जितकै लागि भएपनि हित गर्नुपर्ने दायित्व घोषणा पत्रानुसार प्रष्ट हुन्छ ।

घोषणा पत्रानुसार नै श्रमिकको साथी कांग्रेस पनि हो । तर, घोषणापत्रका नारालाई घाममा सुकाउँदै आजको सडक छेकाइले श्रमिकलाई सास्ती दिएको छ ।

यसतर्फ कांग्रेस मात्रै होइन । सम्पुर्ण राजनीतिक दलहरु सचेत हुनु जरुरी छ । जसले पोखरा मात्रै होइन, नेपालको सधैं जय हुन प्रेरणा दिइरहोस् ।

यो पनि पढ्नुहोस्

२० फोटोमा हेर्नुहोस् ! सरकार विरुद्ध कास्की कांग्रेसको विरोध प्रदर्शन

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.