www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा अब मोबाइल अस्पताल सेवा

तनहुँ ।

तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो ।

सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई ५० लाख उपलब्ध गराउने भएको छ ।

Batas

उक्त रकम पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशले मोबाइल अस्पताल सेवा दमौली अस्पतालसहित स्याङ्जाको वालिङ स्वास्थ्यचौकी र पर्वतको डिमुवा स्वास्थ्यचौकीमा पनि सञ्चालन गर्न लागेको छ । लामो राजमार्ग भएका जिल्लाको केन्द्रमा रहेका अस्पतालमा पहिलो पटक मोबाइल अस्पताल सेवा सञ्चालन गरिन लागिएको हो ।

विशेष गरी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल घटनास्थलमा नै पुगेर दक्ष चिकित्सकसहितको उपचार सेवा दिन उक्त सेवा सञ्चलान गर्न लागिएको दमौली अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले जानकारी दिए ।तनहुँको मुग्लिनदेखि कास्कीको सिमाना कोत्रेसम्म ७२ किलोमिटर लामो पृथ्वीराजमार्ग रहेको छ ।

उक्त राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने र दुर्घटनाका घाइतेलाई अस्पतालसम्म ल्याउन समस्या हुने भएको कारण दुर्घटनाको सूूचना पाउनासाथ सबै प्रविधि र औषधिसमेत पर्याप्त भएको एम्बुलेन्समा जडित मोबाइल अस्पताल सेवा दुर्घटनास्थलमा पुगी त्यही नै घाइतेको उपचार गर्ने र त्यहीबाट नै सम्बन्धित अस्पतालमा पठाइनेसमेत व्यवस्था मिलाइने सदस्य ढकालले बताए ।

मोबाइल अस्पतालको लागि एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र अब केही दिनमै उक्त सेवा सञ्चालन गरिने ढकालले जानकारी दिए ।

मोबाइल अस्पताल सेवा सवारी दुर्घटनाको लागि मात्र नभएर अन्य प्राकृतिक विपत्ति र माहामारीजन्य रोगको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने दमौली अस्पतालले जनाएको छ ।

सो सेवाको लागि एक जना डाक्टरसहित अन्य सहयोगी चौबीसैँ घण्टा तयारी अवस्थामा रहनेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.