www.tandavnews.com
Fact ~ In search of truth

तन्त्रमन्त्रको समानले सकियो समय र सम्पत्ति

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज । 

व्यापार राम्रै चलिरहेको थियो । वुवा पनि पोखराका पुरानो व्यापारी भएको हुनाले साजनलाई व्यवसायी अघि बढाउन निकै सजिलो थियो । २९ वर्षीय साजनले व्यवसायीमा चाहिने सामान भारतबाट ल्याउने गर्थे । भारत जाने, आउने उनको लागि पानी पधेरो जस्तै थियो ।

एक पटक व्यवसायीकै क्रममा साजन सुनौली पुगे । सुनौलीमा साजनको साथी थिए भारतीय (माडवारी) चन्दु । चन्दु पोखरा आउदा जस्तो स्वागत हुन्थ्यो त्यो भन्दा दोब्बर साजन त्यहाँ जादा हुने गथ्र्यो । साजन आएकै खुशिमा पार्टी चल्यो । सोही क्रममा चन्दुले आफ्नो एक जना भारतीय साथी राधेसँग साजनलाई परिचय गराए । पार्टीमा खादैजादा राधेले नेपालमा आफूले एउटा ठूलो काम अड्कीएर बसेको कुरा साजनसँग सुनाए ।

Batas

विश्वासिलो पात्र नभएको हुनाले काम अघि नबढेको भन्दै राधेले चिन्ता व्यक्त गरे । चन्दु र राधे एकदम मिल्ने साथी थिए । त्यही भएर पनि साजनलाई राधेले सजिलै विश्वास गर्दै आफ्नो कुरा सुनाए । नेपालको बागलुङ भन्ने ठाउँमा एक जना व्यक्तिसँग एक मुखे रुद्रक्षो छ रे डिल गर्ने मान्छे नभएको राधेले सुनायो ।

रुद्रक्षा भनेपछि पूजापाट भन्ने ठानेर सुरुमा साजनले वास्ता गरेनन् । त्यही पनि किन रहेछ भनेर राधेलाई साजनले त्यस बारे सोधे । रुद्राक्षको बारेमा धेरै जानकारी नभएको साजनले राधेको कुरा सुनेपछि जिल खाए । एक मुखे रुद्राक्षलाई ८० लाख पर्ने भनेपछि साजनलाई पनि लोभ पलाएर आयो ।

राधेसँग मजाले कुरा भयो । अब साजनले बागलुङबाट रुद्राक्ष किनेर भारत ल्याउने एजेन्ट जस्तै हुन थाल्यो । साजनले रुद्राक्ष ल्याए वापत २५ लाख पाउने भए । दुख गरेर एक महिनामा ४–५ लाख रुपैयाँ कमाउने साजनले बागलुङबाट रुद्राक्ष लिएर भारत पुग्दा २५ लाख रुपैयाँ कमाउने भए ।

कुरा भएको भोलीपल्ट उनीहरुले योजना बनाए । जस्तै, पहिला त्यो मान्छेलाई भेटेर रुद्राक्ष हेर्ने, हेर्नको लागि सुनौलीबाटै बाबाहरु (तान्त्रिक) लिएर जाने । रुद्राक्ष सक्किली भए १५ लाख दिएर बैना लगाउने । अनि एक हप्ता बसेर रुद्राक्षलाई मन्त्र गरेर शुद्ध बनाउने अनि भारत ल्याउने ।

रुद्राक्ष हात नपरेसम्म नेपालमा खर्च साजनकै नाम रहने । सल्लाह गरेपछि साजन पोखरा आए । बागलुङ ति व्यक्तिसँग सम्पर्क भयो । केही दिनपछि भेट्ने कुरा भयो ।

साजन आएको एक हप्तापछि राधेले भनेजस्तै सुनौलीबाट ३ जना बाबा पोखरा पुगे । उनीहरुलाई साजनले लेकसाईड एक होटलमा राखे । आएकै रात ती बाबाहरुसँग छलफल भयो । भोली पल्टै बागलुङतिर लागे । त्यसको लागि साजनले गाडी भाँडामा लिए ।

काम सुरु नभएको १० दिन पूरा नहुँदै गर्दा साजन निकै खुशी देखिन्थ्यो । एक दुई हप्तामा २५ लाख कमाईन्छ भनेर आसमा मख्ख थियो साजन ।

उनीहरु बागलुङ पुगे हर्केसँग भेट भयो । हर्क पनि बागलुङका चलपल युवा मध्येका एक रहेछन् । उनीहरुसँग कुराकानी भयो । हर्केले आफूसँग रुद्राक्ष नरहेको तर आफू मेन डिल गर्ने मान्छे रहेको सुनाए । ‘पहिलै भन्नु पर्थेन जहाँ हो त्यही जानेथिएम्नी’ साजनले रिसाउदै भने, ‘वेकार खर्च भयो ।’

‘करोडको माल सजिलै हेर्न पाइन्छ ?’, साजनको कुरा सुनेपछि हर्केले हाँस्दै भने, ‘पैसा पहिलेनै दिन्छु भन्दा त मान्छेले हेर्न पाउदैन तिमीहरु त भाग्य मानी हौं, रिसले केही पनि हुदैन साथी हेर्ने हो भने लमजुङ जानु पर्छ । म पनि जान्छु त्यही गएर डिल ओके गरम्ला ।’

त्यही गाडीमा हर्केपनि उनीहरुसँग रातारात लम्जुङ लाग्यो । बाटो मदिरा खादै पोखरा आई पुग्दासम्म साजन र हर्के मिल्ने साथी भई सकेका थिए । ‘तिमीले एक मुखे रुद्राक्ष देखेको छौ त ?’ साजनले हर्केलाई सोध्यो । ‘छैन तर त्यो दिदीसँग कन्फम छ, तिमीहरु भन्दा पहिला आएको पाटीले पनि छ भन्दै थियो तर रेटमा कुरा मिलेन अनि डिल क्यान्सिल भएको रे ।’ त्यति भनेपछि साजन ढुक्क भए, लम्जुङमा डिल हुने भयो भनेर ।

उनीहरु लम्जुङ पुगे । त्यहाँ ४० वर्षीया जुना दिदीसँग पनि भयो तर रुद्राक्ष भने उनीसँग थिएन् । फेरी साजन रिसाउनु भन्दा अरु विकल्प थिएन् । त्यो रात उनीहरु लम्जुङ एक होटलमा बसे । साजन,तीन जना बाबाहरु, हर्के र जुना वार्ता चल्यो । जुनाले रुद्राक्ष पूजा गर्न पठाएको हुनाले एक हप्तापछि आउने कुरा बताईन् । आएपछि ९० लाखमा बेच्ने भन्दै रेटमा बार्गेनिङ हुन थाल्यो । साजनले पहिला ८० लाख भनेर राधेसँग हर्कको डिल भएको सुनाए । केही वेरको वार्गेनिङ पछि ८५ लाखमा मूल्य तोकियो ।

साजनले एक हप्तासम्म लम्जुङ बस्दा आफ्नो व्यवसायी विग्रने भन्दै पोखरा फर्कने निर्णय गरे । जुनाले जानु भन्दा पहिले वैना लगाउने भने । ‘रुद्राक्षनै हेर्न पाएको छैन वैना कसरी लगाउने? साजनले प्रश्न गरे ।

‘यो बजारमा देखाउने माल होइन भाई, सबै विश्वासमा चल्ने हो,’ जुनाले रिसाउदै भनिन्, ‘तिमीले वैना लगाउदैनौ भने अर्को पाटी पनि आएका छन् उनीहरुलाई दिन्छु पछि वैइमान ग¥यो भन्न पाउदैनौ नी ।’ आफूसँग ल्याएको नगद १५ लाख रुपैयाँ साजनले हर्केलाई साची राखेर दियो र ऊ पोखरा फर्कियो ।

बाबासँग पोखरा आएका साजनलाई रुद्राक्षको रन्को थियो । भारतमा साथीहरु र आफूसँग रहेका बाबाले भनेको सुनेपछि साजन रुद्राक्षको फ््यान भएका थिए । रुद्राक्ष शिव भगवान स्वरुप हो । शिव भगवानको प्रिय गहना (एक मुखे ) रुद्राक्ष हो । यसलाई पाउने मान्छेको बाधा, संकट दुख विमार सबै हटेर जान्छ । जसको हातमा एक मुखे रुद्राक्ष हुन्छ त्यसलाई ज्ञान र धान दुवै आर्जन हुन्छ । तर एक मुखे रुद्राक्षलाई मन्त्रले जपेर शुद्ध बनाएर हातमा वा गलामा पहिरन गर्नुपर्छ भनेर उनले पटक–पटक सुन्दै आएका थिए ।

विस्तारै साजनलाई रुद्राक्ष किनेर आफैले राख्नुपर्छ जस्तो ध्यान आएको थियो । तर एक हप्ता होइन एक महिना वितिसक्यो अझै रुद्राक्ष आएन् । यता रुद्राक्ष नआउँदाको दुख अनि बाबाहरुलाई लेकसाईड राखेर पाल्दाको पीडा बढ्दै गएको थियो साजनमा । एक महिना चारदिनपछि बाबाहरुले मनाङमा वन मान्छेको हड्डी (स्टिक) को प्रस्ताव साजनसँग राखे । ‘वन मान्छेको हड्डी ?’ अच्चम पर्दै साजनले सोधे ।

वन मान्छेको हड्डी निकै महत्वपूर्ण कुरा रहेको ३ जना मध्येका एक बाबाले बताए । ‘मरिसकेको वन मान्छेको हड्डी हुन्छ,’ बाबाले भने, ‘यसले डकुमेन्ट, कागजात पत्र तान्ने काम गर्छ । हड्डीको सहयोगले मन्त्रद्धारा कुनै मान्छेले घरमा राखेको लालपुर्जा, कम्पनीको कागजात छर्लङ हुने गरे तान्छ ।’ कुरा सुन्दा साजन अर्कै दुनियामा पुगे जस्तो महशुस गरे । बाबाले त्यही हड्डीको डिल गर्न मनाङ जाने प्रस्ताव गरे ।

पहिलेनै १५ लाख लगानी गरिसकेका साजनलाई धर्मसंकट प¥यो । धेरै वेर हड्डीको व्याख्या सुनेका साजनले अन्तत जाने निर्णय गरे । मनाङ जादा जुना दिदीलाई पनि भेटिने भन्दै उनीहरु फेरी गाडी लिएर लम्जुङ लागे । जुना काठमाडांै गएको वेला परेछ । आफ्नो गाडी टु हुइल वाला गाडी मनाङ जान नसक्ने भनेपछि लम्जुङबाट फोर हुइलवाला गाडी लिएर उनीहरु मनाङ पुगे ।

मनाङको चामे एक होटलमा तेन्जीसँग उनीहरुको भेटघाट भयो । पर्सिपल्ट समान हेर्न भन्ने कुरा भयो । सामान आउन समय लाग्ने भनेपछि तेन्जीले उनीहरुलाई भोलीपल्ट उपल्लो मनाङ (ट्याङके मनाङ) हेर्न लगे ।

सामान हेर्ने दिन आयो । राती १० बजेतिर तेन्जी ३–४ जना केटाहरु लिएर होटल आए । ३ जना बाबा साजन अनि तेन्जी र केटाहरु एउटै कोठामा भेट भए ।

छालाको व्यागबाट तेन्जिले सेतो कपडामा रातो धागेले वेरेको पोको निकाले । सामान खोल्नु भन्दा पहिला तेन्जिले सामान हेरेर बाहिर ननिस्केसम्म कसैले मोवाईल प्रयोग गर्न नपाउने सर्त राखे । उनीहरु बसेको होटलबाट प्रहरी कार्यालयको दुरी जम्मा एक सय मिटर थियो । त्यही डरले तेन्जिनले त्यो सर्त राखेका थिए ।

उनले सामान फुकाए । त्यहाँबाट हड्डी निकाले । झट्ट हेर्दा कुकुरको खुट्टाको हड्डी जस्तो देखिन्थ्यो । विचमा सुकेको छेउ छेउमा फुकेको अनि अलिअलि सुकेको मासु तान्द्रा । बाबा मध्यका वुढा वाला बाबाले हातमा मागे । हातमा लिदै चोर औला र वुढि औलाले कोट्याए । ‘माल सक्कली हो’ भन्दै बाबाले ओठ के फर्काएका थिए साजनको आँखामा खुशी झल्कियो ।

मोलतोल सुरु भयो । उनीहरु २५ लाख, बाबाले १५ लाख । डिल हुन थाल्यो । पछि २० लाखमा पक्का भयो । बाबाले आफूहरु अहिले हेर्न आएको पछि किन्ने गरि आउने बताए । त्यहाँपनि वैन लगाउने कुरा भयो तर बाबाले सोझै लिने गरि आउने भन्दै वैना दिन मानेन् । उनीहरु त्यहाँबाट फर्किए ।

साजनलाई निकै चुकचुक लाग्यो । बाटोमा उनले बाबासँग सोधे ‘बाबा सक्कली थियो भने किन नकिनेको ?’ बाबाले त्यो हड्डी त्यति काम लाग्ने नरहेको तर्क पेस गरे । ‘त्यो वन मान्छे कालगतिले मरेको हो,’ बाबाले भने, ‘कसैले मारेको वा आत्महत्या गरेर मरेको वन मान्छेको हड्डी मात्र काम लाग्छ ।’ त्यति भनेपछि साजन केही बोलेन् ।

उनीहरु पोखरा आए । फेरी ३ दिनको बसाईपछि साजनले आफ्नो काम नहुने भन्दै बाबाहरुलाई जान आग्रह गरे । उनीहर भारत फर्किए तर राधेसँग भने साजनको फोन सम्पर्क भईरहेको थियो । मनाङ गएको खर्चपनि साजनलेनै पोल्टामा आयो ।

उत्ता रुद्राक्षको पैसा डुवेपनि एक दिन सबै अशुल हुने आशमा साजन दिन काट्दै थियो । आफ्नो व्यवसायीमा समय दिएपनि साजनलाई रुद्राक्ष, वन मान्छेको हड्डी लगायत तान्त्रिक समानमा रश बसिसकेको थियो ।

त्यसपछि पनि ६÷७ महिना जति यस्तै काममा हिडेको उनले ताण्डव न्यूजसँग सुनाए । ‘त्यो वेला के भयो भयो २०–२५ लाख भन्दा धेरै पैसा सके,’ उनले भने, ‘यतिकै लहैलहैमा लागेर समय सम्पती त्यतिकै खर्चिए ।’ अहिले उनी यस्तो कुराबाट निकै पर रहेको सुनाए ।

तन्त्रमन्त्रको सामानको खोजी गर्दा आफूले पनि धेरै समय र ठूलो धनराशी खर्चेको पोखरा–२१ का नरेशले बताए । ‘हाम्रो टिम थियो,२ बर्षमा हाम्रो १० जनाको टिमले ३ करोड भन्दाधेरै रकम फालेका छौं,’ उनले भने, ‘त्यो अवधिमा एक शुको पैसा ति समानबाट आएन ।’

नरेशका अनुसार यस्तो समान खोज्ने नशा बसेपछि छुटकारा पाउन निकै गाह्रो हुन्छ ।

‘गैरकानुनी काम हो विश्वासको आधारमा हिड्ने हो भन्यो कहिलेकाहाँ केही पत्तो हँुदैन, गाई गोठदेखि पाँचतारे होटलको वास पनि भोगियो,’ उनले भने, ‘फेरी हिड्ने टोली करोड घटि कुरै गर्दैनन््, यो समान १ करोड पर्छ, त्यो सामान २ करोड पर्छ भन्छन् ।’

नरेशले त्यसरी हिँड्दा एक मुखे रुद्राक्ष, क्याचिङ सिक्का, वन मान्छेको हड्डी(स्टिक) लगायतको सामान देखेको बताए । ‘देखेको केही छैन, यसले यस्तो काम गर्छ त्यसले त्यस्तो काम गर्छ भन्ने तर कामनै नहुने,’ उनले भने, ‘यतिसम्म हुन्थ्यो कि सामाननै नदेखि लाख लाखका विटो फालिन्थ्यो ।’

विशेष गरि लम्जुङ, स्याङजा, बागलुङ र काठमाडौमा यस्तो समान खोज्ने गिरोहको कुनै कमी छैन् । ‘यही पोखराको एक जना साथीले त एक्लैले २ करोड रुपैयाँ भन्दा धेरै पैसा त्यस्तो सामानको खोजीमा फाल्यो,’ उनले भने, ‘अहिलेपनि कताकहि उनी हिड्छन रे, धन्न वेलैमा म हिड्न छाडे नत्र यस्तो कामले घर घडेरी सकिएका मान्छे पोखरामा दुई चार जना छन् ।’

(पात्रहरुकाे नाम परिवर्तन गरिएकाे छ)

अन्धविश्वासको बजारमा सामानको मूल्य

तान्त्रिक सामाग्री खोज्न हिड्ने कारोबारीहरुको अनुसार यस्तो सामान निकै महंगो हुन्छ । यसमा विशेष गरि केही सामाग्रीहरु मान्छेले सजिलै फेला पर्छन् तर यसले गर्ने कामको बारेमा थोरै मान्छेलाई ज्ञान हुने उनीहरुको तर्क छ ।

यस्तो अन्धविश्वासको बजारमा तान्त्रिक समानको मूल्य यस प्रकार तोकिएको छ । यस्तै सामान खोजी गर्ने व्यक्तिहरुको भनाईको आधारमा ताण्डव न्यूजले सामाग्रीहरु तयार पारेको छ :

वन मान्छेको हड्डी (स्टिक)

यो मरेको वन मान्छेको हड्डी हो । यसलाई किनवेच गर्दा स्टिक मात्र भनेपनि पुग्ने व्यवसायी बताउँछन् । यसको मूल्य १५ देखि २० लाख रुपैयाँसम्म पर्ने एक व्यवसायीले बताए । यसलाई तन्त्रमन्त्रको प्रयोग गरेर कुनै व्यक्तिको घरमा रहेको कागजात पत्र पढ्न मिल्छ भन्ने तर्क छ तर आजसम्म यस्ता काम गर्ने व्यवसायीले किनेपनि प्रयोग गर्दा आफुले थाहा नपाएको व्यवसायीहरु बताउछन् ।

आत्महत्या गरेको डोरी

अन्धविश्वासको बजारमा मान्छेले आत्महत्या गरेको डोरीको मूल्य १५ देखी २० लाख रुपैयाँसम्म राख्ने गरेको पाइन्छ । मान्छेले आत्महत्या गरेको डोरी मात्र भएर हुँदैन् । आत्महत्या गरेपछि फलामले नकाटि डोरीलाई हातले फुकालेमा मात्र यसको मूल्य पर्ने कारोवारीहरुको भनाई छ ।

त्यसरीनै फुकाएको डोरी हो या होइन भनेर केही बाबा (तान्त्रिक)हरुले मात्र थाहा पाउने उनीहरु बताउँछन् । डोरी पत्ता लगाउने बाबाको रेड पनि कम छैन् । त्यही डोरी हो या होइन भनेर मन्त्र जपेर पत्ता लगाउने बाबाको मूल्य ३ लाखसम्म छ त्यो पनि भारतीय रुपैयाँ ।

क्याचिङ सिक्का

क्याचिङ सिक्काको पनि काम वन मान्छेको हड्डी जस्तै हो । ताण्डव न्यूजले सोधेका ४ जना कारोबारी मध्ये सबैले पनि क्याचिङ सिक्का कस्तो हुन्छ भनेर भन्न सकेनन् । उनीहरुलाई यसको काम मात्र थाहा भएको तर सिक्कामा के हुन्छ कसैलाई थाहा नभएको बताए । सिक्कानै नदेखेपनि यसको मूल्य करिब एक करोडको हाराहारी हुने उनीहरुले जानकारी दिए ।

यस्तो सिक्कामा शक्ति छ या छैन भनेर जाँच्नको लागि चामल भए पुग्ने उनीहरु सुनाउँछन् । वरीपरी चामल राख्यो भने सिक्काले तान्छ रे त्यसपछि ति तानिएका चामल छुँदा धुलो हुन्छ । यसरी यसको परिक्षण गर्ने सकिने उनीहरुको भनाई छ ।

थन्डर स्टोन

थन्डर स्टोन एक प्रकारको ढुङगा रहेको उनीहरु सुनाउँछन् । चट्याङ परेको वेला आकाशबाट एउटा कालो ढुङगा खस्छ । चट्याङ पर्दा त्यही ढुङगाको कारणले रुख चिर्ने, चट्टान अनि जमिनमा चिरा पर्ने गरेका उनीहरु बताउँछन् । यही ढुङगाको मूल्य ४० लाखदेखी १ करोड रुपैयाँसम्म पर्ने उनीहरु सुनाउँछन् ।

तर ढुङगा भएर मात्र हुदैन यसले काम गर्नुपर्छ । यस्तो ढुङगा चट्याङ पर्नासाथ कुनै विद्युतीय उपकरणको नजिक लान नहुने, यदी लग्यो भने त्यसको शक्ति नाश हुने भनाई छ । शक्तिनाश भएको ढुङगा अन्य ढुङगा जस्तै मानिने कारोबारी बताउँछन् । यस्तो ढुङगा भेट्ने वित्तिकै प्लास्टिकले वेरेर काठको बासमा राख्ने चलन रहेको उनीहरु जनाए ।

एक मुखे रुद्राक्ष

माथी उल्लेख भएका अन्य सामाग्रीको तुलनामा धेरै मान्छेले सजिलै देख्ने चिजमा पर्छ एक मुखे रुद्राक्ष । त्यही भएर पनि एक मुखे रुद्राक्षको पछि धेरै मान्छे लागेका हुन्छन् । सामान्यतया यसको मूल्य ६० लाख रुपैयाँदेखी १ करोडमाथी पर्ने तर त्यसमा शक्ति हुनु पर्ने कारोवारीहरुको भनाई छ । यसमा पनि पूजा गरेर शुद्ध भएको एक मुखे रुदाक्षको मूल्य अझै बढि मोल गर्छन कारोवारीहरु ।

उनीहरुको अनुसार एक मुखे रुद्राक्षले दूध खान्छ, चामलको बोराको विचमा राख्यो भने भोलीपल्ट आफै बाहिर आउछ । जुन मान्छेको हात पर्छ त्यो मान्छे सधै सुखी र खुशी हुन्छ । यसलाई हात वा गलामा लगाउनुपर्छ ।

नाग मणी

मणी महंगो ढुङगा हो । मणी मध्येमा पनि नागमणीको छुट्टै विशेषता छ । यो चमात्कारिक ढुङगाको रुपमा चिनिन्छ । विशेष गरि भगवान शेष नागले मणी धारण गर्थे भनेर ग्रन्थमा पढ्न पाइन्छ । नागमणीमा अलौकिक शक्ति हुन्छ भन्ने भनाई छ ।

पोखरामा रहेका कारोवारी मध्ये एक दुई जना मात्र नागमणीका बारेमा कुरा गर्छन । तर कसैले देखेका छैनन्् अझैसम्म । यसको मूल्य त परै जाहोस वैना मात्र करोड अरबको हुने उनीहरु सुनाउँछन् ।

वहुमुल्य धातु हिरा यसको अगाडी फिक्का हुन्छ । यो जसको हातमा पर्छ उसले मृत्युमाथी विजय प्राप्त गर्छ भन्ने भनाई छ । कारोवारीहरुको भनाई अनुसार नागमणी परिवारको कुनै एक सदस्यको हात प¥यो भने सात पुस्तासम्म नागमणिलेनै रक्षा गर्छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.