www.tandavnews.com
Fact ~ In search of truth

तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीको माग

पोखरा ।

पोखरा महानगरपालिकाको दक्षिण भेगस्थित सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले माग गरेका छन् ।

घाट सञ्चालन गरी नदीजन्य वस्तु उत्खनन गर्दा सो क्षेत्रको बस्तीसहित पृथ्वीराजमार्ग उच्च जोखिममा पर्ने भन्दै स्थानीयवासीले सो घाट बन्द गर्न माग गरेका हुन् ।

कास्की जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहितको टोलीले सो क्षेत्रको अनुगमनका लागि सोमबार त्यहाँ पुग्दा भौगोलिक संरक्षणका लागि स्थानीयवासीले घाट बन्द गर्न आग्रह गरे ।

स्थानीयवासी इन्द्र गौचनले नदीजन्य वस्तु उत्खननले यस क्षेत्रको बस्ती जोखिममा परेको बताए । पृथ्वीराजमार्ग समेतलाई उत्खननले जोखिमपूर्ण बनाएको उल्लेख गर्दै उनले यसको संरक्षणमा तत्काल राज्यको चासो पुग्नुपर्ने बताए ।

अर्को स्थानीयवासी रमा कार्कीले चार वर्ष अघिदेखि बन्द भएको खानी यही पुस १५ गतेबाट पोखरा महानगरपालिकाले पुनः सञ्चालनमा ल्याएको जानकारी दिँदै सो क्षेत्रको समग्र संरक्षणका लागि खानी बन्द गर्नुपर्ने टोलीसमक्ष अनुरोध गरे ।

पोखरा–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले यहाँको झण्डै २०० रोपनी सार्वजनिक जग्गा अतिक्रमण हुन लागेको जानकारी दिँदै घाट सञ्चालनमार्फत भएको आम्दानी सो क्षेत्रको संरक्षणका लागि उपयोग गर्ने गरी सम्झौता भएको जानकारी दिए ।

खानी सञ्चालन गर्दा पर्न सक्ने जोखिमसमेतलाई नियाल्दैँ महानगरपालिकाले व्यक्तिगत जग्गालाई छोडेर प्राविधिकसमेतको सल्लाहमा सीमाङ्कन गरी उत्खनन हुने क्षेत्र छुट्याएको अध्यक्ष आचार्यले जानकारी दिए ।

अनुगमनपश्चात् जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्रीले स्थानीयवासीको मागसमेतका आधारमा आवश्यक व्यवस्थापनका लागि महानगरपालिकासंग समन्वय गरिने बताए । रासस

सांकेतिक :तस्बिर गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.