www.tandavnews.com
Fact ~ In search of truth

तिब्बतीलाई नागरिकता बनाइदिने ८ जना पोखरामा पक्राउ

पोखरा ।
पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने र सिफारिस गर्ने आठ जना पक्राउ परेका छन् । तिब्बती शरणार्थीसँग विहे गरेर गएकी छोरीका छोरीहरु (नातीनीहरु) लाई पोखरा सरांकोट १८ का लेखबहादुर थापाले छोरी बनाएर नागरिकता बनाएको आरोपमा उनी सहित आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । आठ जनामा नागरिकता लिने, झुटो कागजात तयार पार्ने र उनीहरुलाई सहयोग गर्ने रहेका छन् । लेखबहादुरका दुई नातिनीहरुले फरक फरक मितिमा नागरिकता लिएका छन् । गएको जेठ २६ गते सरु आङ्बोले र असार ६ गते तासी आङ्मोले जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका थिए ।

नागरिकता लिने दुबै शरणार्थी लेखबहादुरकै हुन भनेर केहि स्थानीयले सर्जीमन समेत गरेका थिए । सर्जीमन मुचुल्का गरेका स्थानीयहरु बेलबहादुर थापा, इमा थापामगर, सन्तोष थापामगर, ज्ञानबहादुर थापा क्षेत्री, कमल थापालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिकता बनाउन अन्तिम सिफारिस गर्ने वडा अध्यक्ष भने पक्राउ परेका छैनन् । ‘अनुसन्धानकै क्रममा छ्रौँ, उनीहरु तिब्बती हुन भन्ने अध्ययनले देखाएपछि नागरिकता रद्ध भइसकेको छ,’ वडा अध्यक्ष चाहिँ किन प्रक्राउ नपरको भन्ने प्रश्नमा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने, ‘ अब बयान हुन्छ । उनी पनि कानुनी प्रक्रियामा आउँछन् ।’ अहिले पक्राउ परेकाहरुलाई झुटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकको मुद्धामा कानुनी कारबाही हुने प्रजिअ बुढाले जानकारी दिए । ‘लेखबहादुरकी छोरीले तिब्बती शरणार्थीसँग विहे गरेकी रहिछन्,’ उनले भने, ‘छोरीबाट दुई वटा नातिनीहरुको जन्म भएछ । उनीहरुलाई वंशजको नागरिकता दिलाउन लेखबहादुरले झुटो विवरण पेश गरेको पाइएको छ । अरु कानुनी प्रक्रियामा खुल्नेछ ।’

नातीनीहरुको नागरिकता बनाउन लेखबहादुरले सबै विवरणहरु झुटो बनाएका छन् । सिफारिस पत्रमा नातीनीहरुको बाबु पनि लेखबहादुर नै उल्लेख गरिएको छ । त्यस्तै जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ । झूटो विवरणका आधारमा नागरिकता लिएको उजुरीमाथि कास्की प्रशासनले छानबिन थालेको थियो ।
लामो समयपछिको छानविन र अध्ययन पछि लेखबहादुरले नातिनीहरुको नागरिकता बनाउन तयार पारेको कागजात सबै झुटो भएको पुष्टि भएको कास्की जिल्ला प्रशासनले जनाएको छ । पक्राउ परेकाहरुमाथी नागरिकता ऐन २०६३ अनुसार कानुनी कारबाही अघि बढ्नेछ । उनीहरुको कसुर प्रमाणीत भए एक वर्ष देखि ५ वर्षसम्मको कैद सजाय वा ५० हजार देखि एक लाख रुपैयाँ सम्मको जरिवाना हुने छ । मुद्धाको किसिम हेरेर दुबै सजाय हुने प्रावधान पनि ऐनमा छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.