www.tandavnews.com
Fact ~ In search of truth

तीन दिन वर्षाको सम्भावना

काठमाडौँ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराएको महाशाखाका मौमसविद् सुवास रिमालले बताए ।

उनका अनुसार आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचाँपीय प्रणालीले बदली र वर्षा गराउनेछ । उक्त प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जनसहित क्षणिक वर्षा गराउनेछ ।

आज दिउँसो पूर्वी भेगलगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातको समयमा पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमका थोरै स्थान र मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहितको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी पहाडी भेगका थोरै स्थान र मध्य तथा पश्चिमका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पूर्वी र मध्य पहाडी क्षेत्रमा सामान्य बदली हुनुका साथै क्षणिक वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.