www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरी अस्पतालको ‘बी’ ब्लकको भवन १० वर्षमा बन्यो

अर्जुन कार्की,
बागलुङ / ताण्डव न्यूज ।

धौलागिरी अञ्चल अस्पताल बागलुङको ‘बी’ ब्लकको भवन १० वर्षमा सम्पन्न भएसँगै हिजो (मंगलबार)उद्घाटन गरिएको छ ।

२०६६ साल बैशाख १ गतेबाट निर्माण सुरुवात गरिएको भवनको सबै काम सम्पन्न भएपछि मंगलबार अस्पताल विकास समितिलाई हस्तान्तरण गरिएको हो । तत्कालिन समयमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भिमज्योती, जयबाबा गोरखा र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएपनि पटक–पटक समय थप गर्दै १० वर्षमा निर्माण सम्पन्न गरेको हो ।

अस्तपतालको ‘बी’ ब्लकको भवन ६ करोड ६० लाख ३९ हजार २ सय १४ रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले ६ करोड ५१ लख १६ हजार २ सय ८८ रुपैयाँ रकम भुक्तानी लिएर पटक–पटक ताकेता गर्दा समेत सम्पर्क विहिन बन्ने गरेकोमा ठेक्का रद्द गर्ने अन्तिम पत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण सम्पन्न गरेको आयोजना कार्यान्वयन ईकाई कास्कीले जनायो ।

३२ बढी कोठा रहेको ३ तले सुविधा सम्पन्न उक्त भवनको समयमै काम सम्पन्न नहुँदा विरामीहरुलाई सहज सेवा प्रदान गर्न अस्पताललाई गाह्रो भएको थियो । अहिले उक्त ‘बि’ ब्लकबाट टिकट काउन्टर सहित, फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधी वितरण कक्ष, हाड जोर्नी तथा नसा रोग विभाग, नाँक कान घाँटी रोग विभाग, सर्जरी विभाग, समान्य उपाचार सेवा, भिडियो एक्सरे सेवा विभाग, दन्त सेवा, वालरोग विभाग, स्त्री तथा प्रसुती लगायतका सेवा प्रदान गर्न थालिएकोे धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले जानकारी दिए । रानाले समयमै उक्त भवनको निर्माण सम्पन्न नहुँदा विरामीहरुलाई मर्का पर्ने गरेकाले अब त्यसको अन्त्य हुने बताए ।

उक्त भवनबाट १ महिना पहिलेबाट नै सेवा संचालन गरिएको थियो । २०६९ सालमा नै ‘ए’ ब्लकको निर्माण सम्पन्न गरी सेवा संचालन गरिएपनि ‘बि’ ब्लक र ‘सि’ ब्लक समयमै निर्माण सम्पन्न नहुँदा अस्पताल विकास समितिले विरामी भर्नाको लागि र उपचारको लागि सहज रुपमा सेवा प्रदान गर्न सकेको थिएन ।

मंगलबार अस्पतालको ‘बि’ ब्लकको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेका थिए । मन्त्री पुनले धौलागिरी अञ्चल अस्पताल गण्डकी प्रदेशको मातहतमा आएको पहिलो अस्पताल भएकाले अहिले उत्कृष्ट अस्पताल बन्दै गएको बताउँदै यस वर्ष उपकरण खरिदको लागि प्रदेश सरकारबाट ६ करोड रुपैयाँ विनियोजित भएको बताइन । उनले अस्पतालमा उपकरण खरिदसँगै धेरै रोगहरुको उपचारको लागि पोखरा, काठमाडौं जान अन्त्य हुने बताइन ।

अञ्चल अस्पतालको ‘सि’ ब्लक निर्माण सुरु गरिएको ६ वर्षसम्म पनि अझै सम्पन्न भएको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.