www.tandavnews.com
Fact ~ In search of truth

नगरपालिका कार्यालयको बिजोग:न बस्ने कुर्ची , न काम गर्ने टेवल

संजय रेग्मी ,

पर्वत / ताण्डव न्यूज ।

साँघुरो घरमा नगरपालिकाका कामहरु संचालन हुँदै आएपछि पर्वतको कुश्मा नगरपालिकाका बिभिन्न शाखाका कामहरु झोलाबाट संचालन हुन बाध्य भएका छन् । भाडाको घरबाट चल्दै आएको नगरपालिकाको कार्यालयमा महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु र स्वास्थ्य शाखाका लागि कुनै कार्यकक्ष नै छैन् । जसका कारण उक्त शाखामा काम गर्ने कर्मचारीहरुले जसको कोठामा जहाँनेर खाली कुर्ची देखिन्छ त्यहीँ बसेर घुँडामा सामग्री राखेर काम गर्दै आईरहेका छन् ।

बस्ने कूर्ची र टेवल समेत नभएपछि कतिपय कर्मचारीहरु काम नपाएको जस्तै यताउति डुलिरहेका देखिन्छन भने, को कर्मचारी कुन शाखामा कार्यरत हो भन्ने नचिने भएका कारण सेवाग्राहीलाई काम गराउन नै मुस्किल भएको छ । महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु र स्वास्थ्य शाखामा काम लिएर जाने नागरिकहरुले कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुलाई यो काम कहाँ हुन्छ ? भनेर सोध्ने गरेका छन् ।

तर ती कर्मचारीहरुबाट भने सर÷म्याडमहरु यहीँ वरपर कतै हुनुहुन्छ यसो खोज्नुहोस त । भन्ने जवाफ पाउने गरेका छन् । काम गर्नका लागि नगरपालिकाले सबै वातावरण तयार गर्न नसकेको प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछाने स्वीकार गरे ।

सकेसम्म व्यवस्थापन गर्ने प्रयत्नमा आफुहरु लागिरहेको बताउँदै लामिछानेले सदरमुकाममा रहेका सरकारी कार्यालयहरु खाली बनाएर राख्ने तर तिनै कार्यालय नगरपालिकाले उपयोग गर्न नपाउने हुँदा झनै समस्या भएको जानकारी दिए। पर्वतको जिल्ला कुस्मामा रहेको यो नगरपालिका प्रतिनिधी स्थानीय तह हो ।

पर्वतका अन्य पालिकाको अवस्था भने यो भन्दा पनि दयनीय छ । जिल्लाको अर्को नगरपालिका फलेवास ३ वटा कोठाबाट संचालन हुँदै आईरहेको छ । आफ्नो कार्यकक्ष नहुँदा कर्मचारीलाई समेत काम गर्न समस्या भएको छ भने काम गर्ने वातावरण समेत नभएको उनीहरुको प्रतिक्रिया छ ।

यस्तै जलजला गाउँपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाको अवस्था पनि उस्तै दयनिय छ । ती पालिकाहरुमा कार्यरत कर्मचारीहरुले पनि कार्यालयमा बस्ने कुर्ची सम्म नहुँदा काम गर्न अप्ठ्यारो भैरहेको बताएका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.