www.tandavnews.com
Fact ~ In search of truth

नफर्किएला राजतन्त्र, तर ‘ज्ञानेन्द्र क्रेज’ले नेता झस्किनु पर्छ

 

– माधव भुसाल

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिलो व्यक्ति र नेपालका अन्तिम राजा पनि हुन् ।२००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए ।

Batas

राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका थिए । प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका देशका राजनीतिक दलले २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका थिए ।

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरा छन् । आज (सोमबार) उनि बुद्ध एयरको नाइन एन एजेओ कल साइन विमानबाट पत्नी कोमलसहित पोखरा आइपुगे ।

पोखरा, उनको पुर्वनिर्धारित कार्यक्रम नै हो । ११ बजे पोखरा एयरपोर्ट आइपुग्ने समय तालिका रहेपनि करिब १ बजे उनि ल्याण्ड भए । १० बजेदेखि नै पोखरा एयरपोर्ट भिडभाड भैसकेको थियो, ज्ञानेन्द्रका समर्थकहरुले ।

उनिहरुले जोडजोडले नारा पनि लगाइरहेका थिए । राजा आउ देश बचाउ, टोलटोलमा हल्ला छ राजा ल्याउने सल्लाह छ, गण्तन्त्रलाई फाँसी दे, आदी इत्यादी ।

गणतन्त्र घोषणापछि उनी बालाजु माथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन् । उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय बनाएको छ ।

राज गद्धी त्यागीसकेपछि उनि शान्त भए । नागार्जुनमै समय विताए ।

देशका विभिन्न सञ्चारमाध्यममार्फत उनको आशय बुझ्दा, ‘अभिभावकको भूमिका निर्वाह गर्नेछु’ भन्ने थियो । यसलाई पनि गलत ढंगले व्याख्या नगर्ने हो भने, उनको यो भनाइलाइ सकरात्मक लिनुपर्छ ।

राजतन्त्र हटिसकेपछि संविधानकैलागि २ पटक निर्वाचन गरियो । पहिलो निर्वाचनबाट चुनिएका सांसदहरुले समयमा संविधान निर्माण गरेनन् ।

दोस्रो पटक पनि बन्ला कि नबन्ला ? भन्ने आशंका रहँदा रहँदै संविधान जारी भयो । केही मतभेद भए । तराइमा आन्दोलन चर्कियो । कैयौंले ज्यान गुमाए ।

अहिले तिनै सांसद र नेताहरु देश विकासको जिम्मेवारी बोकेर सरकारमा छन् । आफैंले चुनेको नेता भएपनि जनता खुशी छैनन् । भनिए अनुसारको समृद्धी जनताहरुले महशुस गर्न पाएका छैनन् ।

‘जुन जोगी आएपनि कानै चिरेको’ भने झैं, सबै नेता एकै हुन् भन्ने परेको छ ।

‘राजा हुँदा एक जनाले मात्र खान्थे, अहिले सबै राजा सबैले खान्छन् ।’ यस्ता वाक्यले जनताको नैराश्यता बाेल्छ । ‘बरु राजा नै ठिक’ भन्ने भान आम जनतामा पर्न थालेको छ ।

ज्ञानेन्द्र जहाँ पुग्छन् स्वागत भब्य हुन्छ । पछिल्ला कार्यक्रमहरुमा ज्ञानेन्द्रका समर्थक मात्रै हेर्ने हो भने पनि उत्साहजनक छ । सोमबार पोखरामा पनि त्यहिँ उत्साह देखियो ।

आमजनतामा देशका विभिन्न राजनीतिक दलहरुप्रति वितृष्णा मात्रै बढीरहेको छैन, राजसंस्थाप्रति विश्वास पनि बढेको छ । यसो भनिरहँदा, राजतन्त्र त नफर्किएला । तर, ज्ञानेन्द्रको क्रेजले देशको जिम्मेवारी लिइसकेका, लिइरहेका र लिनेवाला नेताहरु झस्किनुपर्छ ।

याे पनि हेर्नुहाेस् 

१३ फोटोमा हेरौँ ! पोखरामा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.