www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरका सहकारीले खसीबोका बिक्री गर्दै

कावासोती ।

दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर पुग्न थालेका छन् । नवलपुरका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर पुग्ने गरेका हुन् ।

बुटवल, चितवन, पोखरा, काठमाडौँलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न नवलपुर पुगेका छन् । त्यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको छु”, चितवनबाट खसी खरीदका लागि गएका व्यापारी सुनिल तिवारीले भने । नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । यस वर्ष बाख्रा पकेट क्षेत्रका रुपमा विभिन्न क्षेत्रका कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

हुप्सेकोटको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारीले दुई करोड ५० लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने लक्ष्य लिएको छ । विजयादशमीमा सहकारीले करीब दुई हजार खसीबोका बिक्री गर्ने गरी सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सहकारीले सङ्कलन केन्द्रमा रहेका खसीबोकामालाई जिल्लाका विभिन्न बजारसँगै चितवन, बुटवल, पोखरा, काठमाडौँ पठाउँदै आएको व्यवस्थापक सुशीला परियारले बताए। हामीले पाँच वर्षदेखि खसीबोका किसानबाट सङ्कलन गरी बिक्री गर्दै आएका छौँ”, उनले भने ।

सहकारीले अहिले प्रतिकिलो ४९० रुपैयाँका दरले जिउँदो खसीबोकाको मासु बिक्री गरिरहेको छ । दशैँसम्म मूल्य बढेर ५१० रुपैयाँ सम्म पुग्ने उनले बताए । पहाडी क्षेत्रबाट धेरैजसो खसीबोका झ्यालबासको सङ्कलन केन्द्रमा ल्याउने गरिएको छ । गत वर्ष उक्त सहकारीले दुई करोड ८१ लाखको दुई हजार ९८६ खसीबोका बिक्री गरेको थियो । “यस वर्ष चार हजार खसीबोका बिक्री गर्ने लक्ष्य”, परियारले भने।

यस्तै मध्यविन्दु नगरपालिका–१२ तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीले समेत खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । तीन वर्षदेखि तमासपुरमा खसीबोका तथा बाख्रा बिक्री केन्द्र स्थापना गरी सहकारीले खसीबोका बिक्री गर्दै आएको व्यवस्थापक सुमित्रा पाल्पालीले बताए।

बिचौलियामार्फत बिक्री गर्दा किसानलाई नाफा कम हुने र किसानले लगानी गरेअनुसार प्रतिफल पाउन नसक्ने अवस्था थियो । बिक्री केन्द्र स्थापना गरेर सोझै बिक्री गर्न थालेपछि किसानलाई नाफा भएको पाल्पालीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.