www.tandavnews.com
Fact ~ In search of truth

नारी विभेदको खाडल पुर्नुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् । उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रर्वद्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्ने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका छन् ।

“तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुशी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कूरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नसक्नै पर्दछ”, प्रधानमन्त्रीले भनेका छन्, “हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्ब नगरी विभेदर कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाजनिर्माण गर्न सक्नुपर्दछ ।”

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गरेका छन् ।

“मातृमृत्युदरमा सुधार, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा उनीहरुको आर्थिक सशक्तीकरण भइरहेको तथ्याङ्कले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षण देखिन थालेका छन् । राज्यका विभिन्न अङ्गमा महिलाको सहभागिता बढ्दै गएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हुदाँहुदैँ पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौती रहेको प्रधानमन्त्रीले बताएका छन् ।

उनले आज पनि लैङ्गिक हिंसा तथा गरीबीको प्रभाव महिलामा बढी परेको र यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार नहुने उल्लेख गरेका छन् । महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको सन्देशमा उल्लेख छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.