www.tandavnews.com
Fact ~ In search of truth

नुवाकोट दुर्घटना :ज्यान गुमाउनेको संख्या २० पुग्यो

 

बेत्रावती ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाण्डौँमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाण्डौँमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उनले बताए ।

घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा नै खसेर सामान्य घाइते भएका थिए । सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएका सहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिए ।

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुदाँ सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.