www.tandavnews.com
Fact ~ In search of truth

नेकपा र काँग्रेस पेप्सी र कोकाकोला हुन् : अध्यक्ष डा.भट्टराई

पोखरा,
ताण्डव न्यूज ।

समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा र नेपाली काँग्रेसलाई पेप्सी र कोकाकोलाको उदाहरण दिदै बिकास र आचरणको स्वादमा यी दुबै पार्टी फरक नरहेको बताएका छन ।

समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो अभिब्यक्ति दिएका हुन ।

समाजवादी पार्टीलाई नयाँ हात्तीको संज्ञा दिदै मुलुकलाई समृद्ध बनाउने पार्टी बन्ने बताउदै उनले भने, ‘अब जनताले पेस्पी र कोकाकोलाको स्वादवाला पार्टीबाट अधिकार पाउने अपेक्षा नगरे हुन्छ ।’ पार्टीहरुको संख्या थप्न नभई बैकल्पिक सोच, सिद्धान्त, नीतिसहित एकिकृत भएको पार्टी भएको बताए ।

उनले नेकपाले पार्टी एकिकरण गरेको दुइवर्षसम्म एकिकृत हुन नसकेको औल्याउदै दुई जना कालकोठरीमा बसेर निर्णय गर्ने पार्टीहरुले साइनबोर्ड झुण्ड्याउनुको कुनै अर्थ नभएको बताए ।उनले समाजवादी पार्टी सिद्धान्त र व्यवहारमा एक रुपता भएको पार्टी हुने दावी समेत गरे । जाति, समुदाय, क्षेत्र, लिंगको पहिचान, सबैको समावेशीता एवम अपनत्व गर्ने पार्टी भएको बताउदै हिमाल–पहाड–तराई जोड्ने सक्ने उल्लेख गरे ।

उनले हिमाल पहाड मधेशलाई टुक्रयाउन खोज्ने र देशका फाटो पारेर स्वागत लुट्न खोज्न विखण्डनकारी मात्र नभइ लुटेराहरु भएको आरोप लगाए । डा. भट्टराईले संघीयतालाई ठिक ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै गफ र भाषणले सुशासन नहुने धाराणा ब्यक्त गरे ।

उनले प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै भने, ‘सडक टाल्न नसक्ने सरकारले पानी जहाजको फुर्ति लगाउन, ठुला अस्पताल निर्माणमा ध्यान नदिई विदेश उपचारमा धाउने उल्टो बुद्धि भएकाहरुले समृद्धिको नारा लगाउन सुहाउदैन ।’ उनले यथास्थितीवादी पार्टीमा बस्नुभन्दा अग्रगामी पार्टी बर्तमान समय रहेको भन्दै प्रबेशको निम्ती आह्वान समेत गरे ।

‘जुन गोरुको सिङ छैन, उसैको नाम तिखे भनेझै कम्युनिष्टको कुनै सिद्धान्त र आचारण नभएका कम्युनिष्ट नामधारीको पछि लागेर हुदैन, उनले भने ‘अब २० वर्षमा मुलुकलाई समृद्ध बनाउने योजना सहितको पार्टी समाजवादीमा संगठित हुनु आवश्यक छ ।’

संघीया, सुशासन, समृद्धि र समाजवादलाई आत्मसाथ गर्दै समाजवादको नयाँ साझा मोडल तयार गरी समृद्ध मुलुक निर्माणका समाजवादी यात्रामा सबै जुट्नुपर्ने समेत बताएका थिए ।

समायोजन तथा सपथ ग्रहण

बैकल्पिक राजनितिक शक्ति निर्माणका लागि एकिकृत बनेको समाजवादी पार्टीको गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर समितिको समायोजन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

मोती रिजालको अध्यक्षतामा समाजवादी पार्टीको समायोजित प्रदेश समितिलाई पुर्णता दिदै ९९ सदस्यीय, गिरीप्रसाद गुरुङको अध्यक्षतामा ८१ सदस्यीय कास्की जिल्ला समिति र टिकाराम पौडेलको अध्यक्षतामा ८१ सदस्यीय पोखरा महानगर समिति घोषणा एवम पद तथा गोपनीयताको सपथ गराइएको हो ।

प्रदेश अध्यक्ष रिजालले प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ कार्यविशेषले विदेश रहेकाले उपाध्यक्ष खड्ग गुरुङ र महानगर अध्यक्ष टिकाराम पौडेललाई सपथ ग्रहण गराए । त्यस्तै जिल्लाका उपाध्यक्ष खडग गुरुङले जिल्ला समिति र महानगर अध्यक्ष टिकाराम पौडेलले महानगर समितिका पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई समथ ग्रहण गराए ।

यसैविच नेकपा, नेपाली काँग्रेस, जनमुक्ति पार्टी लगायत विभिन्न क्षेत्रका २५५ जना नवप्रवेशीहरुलाई पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबीर र खादा लगाएर पार्टी प्रवेश साथै स्वागत गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.