www.tandavnews.com
Fact ~ In search of truth

नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौँ
कुमार चौलागार्इं ।

नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।

नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् ।

Batas

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्नि ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण कार्य अगाडि बढिरहेको बताए ।

“क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो,” उनी स्वीकार्छन् ।

यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका विभिन्न आठ स्थानमा निर्माणाधिन क्रिकेट मैदानको कामले तीव्रता पाउने उनले बताए । आगामी वर्ष नेपालमा दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसैवर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ ।

बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढी लगायतका स्थानमा निर्धाणधिन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दावी राखेपको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसिसीले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताए । “देशभर आठ मैदान निर्माणाधिन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकोले पूर्वाधारण निर्माणलाई तीव्रता दिनुपर्छ,”–उनले भने । भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको बताईन्छ ।

“राखेपमा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भएको हो”–उनले थपे ।

निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनाअनुरूप काठमाडौँको मूलपानीमा दुईवटा क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो एतिहासिक एक दिवसीय खेल्दैछ । तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।

मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्न योग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ ।

उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै एक दिवसीय मान्यता पायो । त्यसैअनुरूप नेपालले आज दिउँसो नेपाली समयानुसार २ः४५ बजे नेदरल्याण्डस्थित भि आर ए मैदान आम्र्सटडममा नेदरल्याण्डसँग एकदिवसीय खेल खेल्दैछ ।

क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एक दिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ ।

सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाइ देशका विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण कार्यलाई निरन्तरता दिने चालु आवको बजेटमा उल्लेख गरेको छ । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.