www.tandavnews.com
Fact ~ In search of truth

नेपाली सेनाले खरिद ऐन मिचेर दियो पोशाक किन्ने जिम्मा

काठमाडौं
ताण्डव न्युज ।

नेपाली सेनाले खरिद गर्न लागेको पोसाक खरिदको छनोट प्रक्रियामा सार्वजनिक खरिद ऐन मिचेर टेण्डर दिएको पाइएको छ । नेपाली सेनाले ट्रयाक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ ।

नेपाली सेनाको सैनिक सामग्री प्र्रा्प्ति निर्देशनालयका निर्देशक सहायक रथी योगराज शर्माले हस्ताक्षर गरेको पत्रमा टेन्डर आह्वानमा दररेट कम राखेर बोलपत्र दिने फर्मलाई नराखी धेरै राख्ने फर्म छनोट गरिएको छ । नेपाली सेनाले ९६ हजार ७६६ ट्र्याक सुटका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो ।

Batas

सहभागी आठवटा फर्ममध्ये सैनिक सामग्री प्राप्ति निर्देशनालयले श्लोक इन्टरप्राइजेज फर्मका प्रोपाइटर रितेश अग्रवालले हालेको १ हजार ५ सय ५१ रुपैयाँको दररेटलाई छनोट गरेको छ । उनले हालेको बोलपत्रअनुसार १५ करोड ८४ हजार ६० रुपैयाँमा नेपाली सेनाको ट्र्याक सुट खरिदका लागि प्र्रभावकारी देखिएको भन्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम आशयपत्र सैनिक निर्देशनालयले दिएको थियो । अग्रवालले दुई फरक फर्मबाट पोसाक खरिदका लागि टेन्डर हालेका थिए । उनले हालेको एस के फर्म पनि रितेश अग्र्रवालकै नाममा रहेको छ । एसके ट्रेडर्स फर्मबाट उनले १ हजार ५८६ रुपैयाँ दररेटमा १५ करोड ३४ लाख ७० हजार ८७६ रुपैयाँसहितको टेन्डर हालेका थिए ।

कानुनी परीक्षण, पूर्णता परीक्षण र प्राविधिक परीक्षणमा क्लियर भएका आधारमा सो फर्म छनोट गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार यी सबै परीक्षणपछि लागत अनुमानभन्दा कम दररेटमा परेको मध्येबाट छनोट गरिएको हो ।

आठ फर्ममध्ये सबैभन्दा कममा टेन्डर हाल्ने जेएमबीडी इन्टरनेसनल फर्मका सञ्चालक राजमान मिश्रले १ हजार २६२ रुपैयाँका दरले ट्र्याकसुट खरिदका लागि बोलपत्र दिएका थिए । सो दररेटअनुसार जेएमबीडी फर्मले १२ करोड २१ लाख १८ हजार ६९२ रुपैयाँमा खरिद गर्न सक्ने गरी टेन्डर हालेकोमा नेपाली सेनाले अस्वीकृत गरेको छ । सेनाले कम दररेटलाई छाडेर बढी दररेटलाई छनोट गर्दा २ करोड ७९ लाख ६५ हजार ३७४ रुपैयाँ बढी भएको फर्मलाई छनोट गरेको हो ।

कम टेन्डरलाई छनोट नगरी धेरै रेट राख्नेलाई किन छनोट गरियो भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्नेमा सो जानकारीसमेत नेपाली सेनाले दिएको छैन । पोसाक खरिदमा सबै मापदण्ड पुगेपछि मात्रै टेन्डरमा राखिन्छ । ‘सबै फर्मले खरिद गर्न लागेको नेपाली सेनाको पोसाकमा गुणस्तरसमेत मिलेको पाइँदैन,’ स्रोतले भन्यो, ‘कपडाका लागि जुनस्तर हुनपर्ने हो, त्यो गुणस्तर खरिद गर्न लागेको पोसाकमा पाइँदैन ।’

नेपालमा गुणस्तर चेक गर्ने संस्था नभएकाले कपडाको गुणस्तर चेक गर्नका लागि भारत जानुपर्ने बाध्यता छ । नेपालमा गुणस्तर जाँच गर्ने संयन्त्र नहुँदा भारतको सरकारी गुणस्तर कम्पनीले आईपीसी र डीयसजी गुणस्तर चेकजाँच गर्नुपर्छ । तर, टेन्डर आह्वान गर्दा दर्ता गर्ने फर्मले पोसाकको गुणस्तरमा प्रश्न चिह्न खडा भएको छ ।

टेन्डर आह्वानमा एन्ट्रा इन्टरनेसनल फर्मका सञ्चालक सुजितकुमार रेग्मीले १ हजार २९० रुपैयाँको दररेट राख्दै १२ करोड ४८ लाख २८ हजार १४० रुपैयाँ हुन आउने रकमसहितको बोलपत्र हालेको थियो । सिंहवीर सप्लायर्स फर्मबाट सिंहवीरले १ हजार ३४९ रुपैयाँ दररेट राखेर हुन आउने १३ करोड ५ लाख ३७ हजार ३३४ रुपैयाँसहितको बोलपत्र हालेका थिए ।

पूजा ट्रेडिङ एन्ड सप्लायर्स फर्मबाट राजेश अग्रवालले प्रति ट्रयाक सुट १ हजार ३७७ रुपैयाँको दरले १३ करोड ३२ लाख ४६ हजार ७८२ रुपैयाँ रकमसहितको बोलपत्र दर्ता गरेका थिए । शेर्पा आउट डोर स्पोटर््स गुड फर्मका सञ्चालक काजी शेर्पाले प्रतिट्र्याक सुट १ हजार २८९ रुपैयाँको दरले हुन आउने १२ करोड ४७ लाख ३१ हजार ३७४ रुपैयाँसहितको बोलपत्र दिएका थिए ।

मुनिला मंगीलाल फर्मबाट पीताम्बर मुन्काले प्रति ट्रयाक सुट १ हजार ३६८ रुपैयाँको दररेटमा १३ करोड २३ लाख ७५ हजार ८८८ रुपैयाँसहितको बोलपत्र दर्ता गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.