www.tandavnews.com
Fact ~ In search of truth

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौं । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।

इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३  वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन । आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक सङ्कटमा छ । आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम)समयसीमा दिएको छ ।

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.